भोटेकोशीको बाढीपछि धरानका भूगर्भविद् मुकेश बेपत्ता, परिवारमा बढ्यो चिन्ता

  • भदौ १३, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढी त्रिशूली–३ क्षेत्रमा प्रवेश गरेपछि धरानका भूगर्भविद् मुकेश नेपाल सम्पर्कविहीन भएका छन्।

बाढी आएको दिनदेखि मुकेशको अवस्था अज्ञात रहेपछि धरान–६ पानबारीस्थित उनको परिवार गहिरो चिन्तामा परेको छ।

त्रिशूली–३ आयोजना अन्तर्गत हेवा जलविद्युत् परियोजनामा भूगर्भविद्का रूपमा कार्यरत मुकेशले मंगलबार साँझ परिवारसँग फोनमा कुराकानी गरेका थिए। त्यसपछि भने उनको मोबाइलमा सम्पर्क हुन नसकेको उनका बुबा रमेश नेपालले बताए।

‘नेपाल सरकारबाट अहिलेसम्म केही प्रतिक्रिया आएको छैन। कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग समन्वय गर्दा पनि आयोजनासँग पर्याप्त समन्वय नभएको जानकारी आएको छ,’ रमेशले भने।

छोराको अवस्थाबारे कुनै आधिकारिक जानकारी नआएपछि मुकेशकी आमाको अवस्था समेत गम्भीर बनेको परिवारले जनाएको छ। घटनास्थलको वास्तविक अवस्था र मुकेश कहाँ छन् भन्ने स्पष्ट जानकारी नहुँदा परिवारको चिन्ता झन् बढेको छ।

परिवारका अनुसार मुकेश परियोजनाको तल्लो भागमा रहेका दुईवटा सुरुङको निगरानी गर्ने जिम्मेवारीमा थिए। बाढीका बेला आयोजनास्थल र नदीमा पानीको सतह एक्कासि बढेको तथा बाढीको मात्रा विगतका घटनाभन्दा निकै ठूलो रहेको घटनासँग सम्बन्धित व्यक्तिहरूले बताएका छन्।

बाढीपछि घटनास्थलमा पुग्नसमेत कठिनाइ भएको परिवारको भनाइ छ। हेलिकप्टरबाट समेत घटनास्थलमा पुग्न सहज नभएको र सर्वसाधारणलाई प्रवेशमा सीमितता रहेकाले परिवारले प्रत्यक्ष रूपमा मुकेशको अवस्थाबारे बुझ्न सकेको छैन।

मुकेशसँगै आयोजनामा कार्यरत केही सहकर्मी भने पोखरा पुगेका छन्।

सहकर्मीबाट परिवारले पाएको जानकारीअनुसार घटनाका बेला आयोजनास्थलमा केबल वा तारमा समस्या आएको र त्यसपछि बाढीको पानी तीव्र रूपमा बढेको थियो। घटनाबारे फरक–फरक सूचना सार्वजनिक भइरहेकाले मुकेशको वास्तविक अवस्थाबारे परिवार थप अन्योलमा परेको छ।

यसअघि घटनास्थलमा रहेका सबैलाई सुरक्षित उद्धार गरिएको भन्ने सूचना सार्वजनिक भए पनि मुकेशको अवस्था भने अझै अज्ञात रहेको परिवारले जनाएको छ।

मुकेशका मामा सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रहेकाले खोजी तथा घटनास्थलसम्बन्धी जानकारी सङ्कलनमा केही सहज भएको परिवारको भनाइ छ।

मुकेशको खोजी तथा उद्धारका लागि स्वयंसेवी टोलीसमेत घटनास्थलतर्फ जाने तयारीमा रहेको मामाले जानकारी दिएका छन्।

परिवारले मुकेशको खोजीलाई तत्काल प्रभावकारी बनाउन नेपाल सरकार, सम्बन्धित आयोजना, कम्पनी व्यवस्थापन, सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग आग्रह गरेको छ।

भोटेकोशी बाढीपीडितको ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाले भोटेकोशीम ...

विशेष प्रार्थनासँगै ...

धरान/ गत भदौ १० गते रसुवा जिल्लाको सिमा क्षेत्र रसुवागढ ...

मृतकको सङ्ख्या ५३८ प ...

काठमाडौँ/ रसुवाको भोटेकोशी बाढीबाट प्रभावित विभिन् ...

भोटेकोशी बाढी : चार ...

काठमाडौं/ रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved