धरान/ धरान–१६ स्थित सियोन स्कुलमा कक्षा–१० का विद्यार्थीहरूले वास्तविक संसदको झल्को दिने गरी ‘नमुना प्रतिनिधि सभा’ सञ्चालन गरेका छन्।
विद्यार्थी सांसदहरूले सामाजिक सञ्जालको सुरक्षित तथा जिम्मेवार प्रयोगसम्बन्धी विधेयकमाथि बहस गर्दै ‘सामाजिक सञ्जालको सुरक्षित तथा जिम्मेवार प्रयोग विधेयक–२०८३’ बहुमतले पारित गरेका छन्।
शुक्रबार विद्यालयको सभाहलमा बसेको नमुना प्रतिनिधि सभाको बैठकमा विधेयकमाथि सैद्धान्तिक तथा दफावार छलफल गरिएको थियो।
विद्यार्थी सांसदहरूले विधेयकका विभिन्न प्रावधानमाथि पक्ष–विपक्षमा आफ्ना धारणा राख्दै तर्क प्रस्तुत गरेका थिए।
सभामुख कृष्मा सुनुवारले बैठक सञ्चालन गरेकी थिइन् भने सञ्चार तथा सूचना प्रविधिमन्त्रीको भूमिकामा रहेकी लोजिना लिम्बूले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।
छलफलपछि सभामुख सुनुवारले विधेयक निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित भएको घोषणा गरिएको थियो।
विधेयकमा दफा १ देखि २९ सम्म विभिन्न व्यवस्था समेटिएका थिए। प्रतिनिधि सभाबाट पारित विधेयकलाई राष्ट्रपतिको भूमिकामा रहेकी अमिसा मगरले प्रमाणीकरण गरेकी थिइन्।
प्रधानमन्त्रीको भूमिकामा रहेकी ग्रेसी ब्लोनले सरकारको धारणा राख्दै सामाजिक सञ्जाललाई निषेध गर्नेभन्दा सचेत, मर्यादित र जिम्मेवार प्रयोगतर्फ उन्मुख गराउनु आवश्यक रहेको बताइन्।
उनले विधेयक कार्यान्वयनबाट विद्यार्थीदेखि आम नागरिकसम्म डिजिटल अनुशासन र उत्तरदायित्वको भावना विकास हुने विश्वास व्यक्त गरिन्।
विद्यालयका भाइस प्रिन्सिपल राकेश चौधरीले नमुना संसदको अभ्यासले विद्यार्थीलाई वास्तविक प्रतिनिधि सभाकै बैठकमा सहभागी भएजस्तो अनुभूति गराएको बताए।
कक्षा–१० को सामाजिक शिक्षा विषयमा सरकारका प्रमुख अङ्ग, तिनका काम तथा सरकार गठन प्रक्रियालगायत विषय अध्ययन गरिने भएकाले यस्तो व्यावहारिक अभ्यासले सिकाइलाई प्रभावकारी बनाउने उनको भनाइ थियो।
विद्यार्थीहरूलाई नमुना संसदको अभ्यास गराउन श्रावण २१ देखि २८ गतेसम्म तिर्थ कार्कीले सहजीकरण गरेका थिए।
अभ्यासका क्रममा विद्यार्थीहरूले सभामुख, प्रधानमन्त्री, मन्त्री, सांसद तथा राष्ट्रपतिको भूमिका निर्वाह गर्दै विधेयक प्रस्तुतदेखि छलफल, निर्णयार्थ पेश र प्रमाणीकरणसम्मको संसदीय प्रक्रिया सिकेका थिए।
नमुना संसदमा सहभागी विद्यार्थीहरूले अभ्यासबाट आफूहरूले वास्तविक संसदको बैठकमा सहभागी भएजस्तो अनुभव गरेको प्रतिक्रिया दिएका छन्।
विद्यालय तहमा गरिएको यस्तो अभ्यासले पाठ्यपुस्तकमा सीमित संसदीय प्रक्रिया र लोकतान्त्रिक अभ्यासलाई व्यवहारसँग जोड्दै विद्यार्थीमा नेतृत्व क्षमता, वक्तृत्वकला, आत्मविश्वास, तर्क प्रस्तुत गर्ने क्षमता तथा संसदीय संस्कार विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ।