धरान/धरान उपमहानगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडासहित ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
धरान–१४ दुईधारेस्थित नरसिंह भगवान मन्दिरको नाममा रहेको सार्वजनिक जग्गा आपसी मिलेमतोमा व्यक्तिको नाममा नामसारी तथा दर्ता कायम गराई सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी गरेको आरोपमा अख्तियारले विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार खतिवडासँगै तत्कालीन सिंगिया गाविसका सचिव कपिलमणि दाहाल, मालपोत कार्यालय सुनसरीका तत्कालीन मालपोत अधिकृत सुशिल बैध, तत्कालीन शाखा अधिकृत तुङ्गनाथ भण्डारी, तत्कालीन नायब सुब्बा केदारबहादुर कार्की, तत्कालीन धरान–१४ का वडा सचिव उत्तम आले, नरसिंह भगवान मन्दिरका पुजारी टिरु चौधरी, स्थानीय जग्गा कारोबारमा संलग्न पंकज घिमिरे र भागमैन थरुनीविरुद्ध मुद्दा दायर गरिएको हो। बैध, भण्डारी र कार्की हाल अवकाशप्राप्त रहेको अख्तियारले जनाएको छ।
मन्दिरको नाममा रहेको साविक भादगाउँ सिनवारी गाविस–४क, कित्ता नं. १ को ५ कठ्ठा ७ धुर र कित्ता नं. ४ को ४ कठ्ठा १८ धुर गरी कुल १० कठ्ठा ५ धुर जग्गा गलत विवरण तथा प्रतिवेदनका आधारमा व्यक्तिको नाममा नामसारी तथा दर्ता कायम गरिएको उजुरीमाथि अनुसन्धानपछि अख्तियारले मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार आपसी मिलेमतो र योजनामा साविक सिंगिया गाविसबाट २०६४ जेठ ८ गते तथा साविक धरान नगरपालिका–१४ नम्बर वडा कार्यालयबाट २०६४ माघ ९ गते झुट्टा बेहोराको सर्जमिन मुचुल्का तयार गरिएको थियो।
त्यसैगरी, उक्त झुट्टा विवरणसँग मिल्ने गरी नाता प्रमाणित प्रमाणपत्रसमेत तयार गरी धरान नगरपालिकाले मालपोत कार्यालय सुनसरीलाई मन्दिरका पुजारी टिरु चौधरीको नाममा जग्गा नामसारी गरिदिन सिफारिस गरेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।
मालपोत कार्यालय सुनसरीले २०६५ जेठ २१ गते नामसारी गर्ने निर्णय गरी नरसिंह भगवान मन्दिरको नाममा रहेको १० कठ्ठा ५ धुर जग्गा टिरु चौधरीको नाममा दर्ता कायम गरेको थियो। अख्तियारका अनुसार आर्थिक वर्ष २०८२/८३ को न्यूनतम मूल्याङ्कनअनुसार रु. ३६ लाख १० हजार पर्ने उक्त जग्गा नक्कली जग्गाधनी खडा गरी दर्ता कायम गरेर बिक्रीसमेत गरिएको थियो।
अख्तियारले खतिवडासहित सम्बन्धित प्रतिवादीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को (ज) बमोजिमको कसुरमा रु. ३६ लाख १० हजार बिगो कायम गरी बिगो असुलउपर, कैद तथा बिगोबमोजिम जरिवानाको मागदाबी गरेको छ।
यस्तै, कागजपत्र मिलाउन सहयोग गरेको भन्दै तत्कालीन सिंगिया गाविसका अध्यक्ष/सचिव कपिलमणि दाहालले पुजारी टिरु चौधरीबाट रु. ५ हजार घुस/रिसवत लिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ। सोही आधारमा दाहालविरुद्ध समेत भ्रष्टाचारसम्बन्धी कसुरमा सजायको मागदाबी गरिएको छ।
स्थानीय जग्गा कारोबारमा संलग्न पंकज घिमिरेलाई समेत मुख्य कसुरदारलाई सहयोग गर्ने मतियारका रूपमा सजायको मागदाबी गरिएको अख्तियारले जनाएको छ।
त्यसैगरी, भागमैन थरुनीको नाममा दर्ता कायम भई हाल भोगचलन हुँदै आएको उक्त सार्वजनिक जग्गा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ बमोजिम जफत गरी पुनः नरसिंह भगवान मन्दिरकै नाममा कायम गर्न अख्तियारले मागदाबी गरेको छ।
अख्तियारले सार्वजनिक जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता कायम गरी बिक्रीसमेत गरिएको ठहर गर्दै संलग्न प्रतिवादीहरूविरुद्ध कानुनबमोजिम सजायको मागसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
