धरान/ सुनसरीको झुम्का कारागारबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।
‘जेनजी आन्दोलन’ का क्रममा कारागारबाट भागेका तेह्रथुमको लालीगुराँस नगरपालिका–८ सोल्माका ३५ वर्षीय छत्रबहादुर नेपालीलाई प्रहरीले घरैबाट नियन्त्रणमा लिएको हो ।
जिल्ला अदालत तेह्रथुमले नेपालीलाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैदको फैसला सुनाएको थियो । ९ वर्ष कैद भुक्तान गर्न बाँकी रहेकै अवस्थामा उनी २०८२ भदौ २३ र २४ गते भएको आन्दोलनको फाइदा उठाउँदै झुम्का कारागारबाट फरार भएका थिए ।
कारागारबाट भागेपछि उनी आफ्नै घरमा लुकिछिपी बसिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय वसन्तपुरका प्रहरी निरीक्षक रुपेश तामाङको नेतृत्वको टोलीले बिहीबार बिहानका राति २ बजेतिर उनलाई घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका नेपालीलाई बाँकी कैद भुक्तानका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः कारागार पठाइने प्रहरीले जनाएको छ।