तस्बिर मृतक सरोज न्यौपाने रसौतेनी आमासहित बुबा
इटहरी/ इटहरी–९ का १७ वर्षीय सरोज न्यौपाने मृत फेला परेपछि घटनाले इटहरीमा तरंग सिर्जना गरेको छ।
इटहरीस्थित जनता माध्यमिक विद्यालयमा अध्ययनरत सरोजको मृत्यु शंकास्पद रहेको भन्दै उनका साथीहरूले निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।
साथीहरूका अनुसार सरोजले लामो समयदेखि परिवारभित्र मानसिक तथा शारीरिक यातना भोग्दै आएका थिए। उनीहरूले सरोजलाई विशेषगरी सौतेनी आमा र काकाहरूले पटक–पटक कुटपिट गर्ने, खाना नदिई यातना दिने गरेको दाबी गरेका छन्।
कुटपिटका डामसमेत आफूहरूलाई देखाउने गरेको र "म अब धेरै सहन सक्दिनँ" भन्दै पीडा सुनाउने गरेको साथीहरूको भनाइ छ।
साथीहरूले सरोजको मृत्यु पारिवारिक यातनाको परिणाम हुन सक्ने आशंका व्यक्त गर्दै घटनाको गहिरो अनुसन्धान गर्न माग गरेका छन्।
उनीहरूले सरोजको मृत्यु हुँदा परिवारका सदस्यहरूको व्यवहार पनि शंकास्पद रहेको दाबी गरेका छन्। मृतकको अनुहारसमेत हेर्न नदिएको र घटनालाई ढाकछोप गर्ने प्रयास भएको आरोप उनीहरूको छ।
घटनापछि प्रहरीले सरोजकी सौतेनी आमालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार घटनाका सबै पक्षको सूक्ष्म अनुसन्धान भइरहेको छ र अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा कानुनी प्रक्रिया अगाडि बढाइनेछ।
यसैबीच, इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
उनले निष्पक्ष, पारदर्शी र गहिरो अनुसन्धान गरी दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्।
यद्यपि, साथीहरूले लगाएका यातना तथा प्रहरीले दोषीलाई बचाउन खोजेको आरोपबारे प्रहरीले आधिकारिक पुष्टि गरेको छैन।
प्रहरीले अनुसन्धान जारी रहेकाले अफवाह नफैलाउन र आधिकारिक जानकारीलाई मात्र विश्वास गर्न सबैसँग आग्रह गरेको छ।