धरान/ कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा गोष्ठी बुधबारदेखि धरानमा शुरू भएको छ।
प्रदेश वन निर्देशनालय, धरानको आयोजनामा दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा मन्त्रालय मातहतका कार्यालयहरूले वर्षभरि सम्पन्न गरेका कार्यक्रम, उपलब्धि, चुनौती र आगामी कार्यदिशामाथि समीक्षा भइरहेको छ।
गोष्ठीको उद्घाटन पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले गर्नुभएको थियो।
कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद रिसाल, मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटा, प्रदेश योजना आयोगका सदस्य किशोरकुमार राई, एफएओका प्राविधिक सल्लाहकार बद्रीराज ढुंगाना, सामुदायिक वन उपभोक्ता महासंघ कोशीका अध्यक्ष तुलसी संग्रौलालगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा वन अधिकृत पटकबहादुर थापाले वन, वातावरण तथा भू–संरक्षण क्षेत्रको समग्र प्रगति प्रस्तुत गर्नुभएको थियो भने पर्यटन कार्यालय झापा तथा पर्यटन महाशाखाले पर्यटन प्रवर्द्धनका उपलब्धि र आगामी भ्रमण वर्षका तयारीबारे जानकारी दिएका थिए।
उद्घाटन सत्रमा वक्ताहरूले वन संरक्षणसँगै व्यवस्थापन, आधुनिक प्रविधिको प्रयोग, पर्यापर्यटनको विस्तार, धार्मिक पर्यटनको विकास तथा तथ्यमा आधारित योजनामार्फत प्रदेशको समृद्धि हासिल गर्नुपर्नेमा जोड दिएका थिए।
मन्त्री पराजुलीले प्रस्तुत प्रगति सन्तोषजनक भए पनि केही क्षेत्रमा सुधार आवश्यक रहेको उल्लेख गर्दै बेरुजु फर्छ्योट, प्रभावकारी कार्यसम्पादन र पर्यापर्यटनलाई विकासको मुख्य आधार बनाउन सबै कार्यालयलाई निर्देशन दिनुभयो।
कार्यक्रमका अध्यक्ष तथा प्रदेश वन निर्देशक भरतबाबु श्रेष्ठले जलवायु परिवर्तन, वन संरक्षण, वातावरणीय सन्तुलन र पर्यटन विकासलाई एकीकृत रूपमा अघि बढाउँदै दिगो विकासको लक्ष्य हासिल गर्न सबै निकायबीच समन्वय आवश्यक रहेको बताउनुभयो।
गोष्ठीमा कोशी प्रदेशका १५ डिभिजन वन कार्यालय, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, भू तथा जलाधार व्यवस्थापन कार्यालय, पर्यटन कार्यालय, चुरे संरक्षणसम्बन्धी निकाय, कोशी टप्पु वन्यजन्तु आरक्ष, नेपाल वन निगमलगायत मन्त्रालय मातहतका विभिन्न कार्यालयहरूको सहभागिता रहेको छ। समीक्षा गोष्ठी बिहीबारसम्म सञ्चालन हुनेछ।