इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–१ मा प्रहरीले अवैध रूपमा भन्सार छलि गरी ल्याइएका करिब रु. ७ लाख ९५ हजार बराबरका कपडा बरामद गरेको छ। प्रहरी पुगेको थाहा पाएलगत्तै तस्करहरू मोटरसाइकल र कपडाका पोका छाडेर फरार भएका हुन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शुक्रबार बिहान ६ः१५ बजे इनरुवा–१ स्थित रामेश्वर ठाकुरको घरछेउको आँगनमा भन्सार छलिका सामान राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।
प्रहरी टोली घटनास्थलमा पुग्नेबित्तिकै को ३८ प ९२९६, को २६ प १५५६ र को ११ प १४६१ नम्बरका मोटरसाइकलबाट कपडाका पोका झारिरहेका व्यक्तिहरू प्रहरी देख्नासाथ मोटरसाइकल र सामान छाडेर फरार भएका थिए।
प्रहरीले घटनास्थलबाट ५४२ थान कुर्ता–सुरुवाल तथा तीनवटा मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ। बरामद कपडाको अनुमानित मूल्य रु. ७ लाख ९५ हजार रहेको प्रहरीले जनाएको छ।
बरामद सामान र मोटरसाइकल आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय, सेतुबन्ध पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। फरार भएका व्यक्तिहरूको खोजी कार्यसमेत तीव्र पारिएको प्रहरीले जनाएको छ।