धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा विद्यार्थीहरूको व्यक्तित्व विकास, सञ्चार सीप र नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको पाँचदिने उद्घोषणकला तथा नेतृत्व विकास तालिम शुक्रबार सम्पन्न भएको छ।
गर्मी बिदाको सदुपयोग गर्दै सञ्चालन गरिएको तालिममा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
पाँच दिनसम्म चलेको प्रशिक्षणमा उद्घोषणकला, वक्तृत्वकला, औपचारिक कार्यक्रम सञ्चालन, प्रभावकारी प्रस्तुतीकरण, नेतृत्व विकास, माइक्रोफोन तथा पोडियमको सही प्रयोग, आवाजको उतारचढाव र मञ्चमा आत्मविश्वासका साथ प्रस्तुत हुने कला लगायतका विषयमा व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो।
तालिमको विशेषता भनेकै प्रत्येक विद्यार्थीलाई दैनिक रूपमा मञ्चमा उभ्याएर प्रत्यक्ष अभ्यास गराइनु थियो।
"सामाजिक सञ्जाल : चुनौती र अवसर" विषयमा विद्यार्थीहरूले प्रभावकारी भाषण प्रस्तुत गर्दै आफ्ना विचार आत्मविश्वासका साथ व्यक्त गरेका थिए। साथै औपचारिक कार्यक्रम सञ्चालनका सम्पूर्ण प्रक्रिया पनि व्यवहारिक रूपमा अभ्यास गराइएको थियो।
समापन समारोहमा सहभागी विद्यार्थी सिद्धार्थ श्रेष्ठ र प्रियन्का तामाङले तालिमले सार्वजनिक रूपमा बोल्ने आत्मविश्वास, प्रभावकारी प्रस्तुतीकरण तथा नेतृत्व क्षमता विकासमा महत्वपूर्ण योगदान पुगेको अनुभव सुनाए।
तालिमका सहजकर्ता सञ्चारकर्मी तथा प्रशिक्षक तीर्थ कार्कीले प्रभावकारी वक्ता बन्न निरन्तर अभ्यास आवश्यक पर्ने भएकाले प्रत्येक विद्यार्थीलाई मञ्चमा उभ्याएर व्यवहारिक अभ्यासमा जोड दिइएको बताए। उनका अनुसार आत्मविश्वास, स्पष्ट अभिव्यक्ति र नियमित अभ्यास नै सफल उद्घोषक तथा नेतृत्वकर्ताको मुख्य आधार हुन्।
विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक नयनराज राईले तालिममार्फत विद्यार्थीले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अनुभव हासिल गरेको बताए।
विद्यालयका प्रबन्ध निर्देशक गङ्गाराम राईले यस्ता सीपमूलक तथा व्यवहारमुखी कार्यक्रमले विद्यार्थीको व्यक्तित्व विकास, सञ्चार सीप, नेतृत्व क्षमता र सार्वजनिक प्रस्तुतीकरणमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए।