धरानले सम्झियो आफ्ना जनप्रिय मेयर तारा सुब्बालाई 'थोरै प्रचार, धेरै काम' का प्रतीक तारा सुब्बाप्रति श्रद्धाञ्जली, बसपार्कदेखि ग्रिन सिटीसम्मका अधुरा सपना पूरा गर्न आह्वान

  • साउन १, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिकाका प्रथम जननिर्वाचित नगर प्रमुख स्वर्गीय तारा सुब्बाको ९औँ स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली सभा, माल्यार्पण तथा स्मरण कार्यक्रम  सम्पन्न भएको छ।

तारा सुब्बा स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा राजनीतिक नेतृत्व, जनप्रतिनिधि, सामाजिक अभियन्ता, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिष्ठानका अध्यक्ष नारायण सुबेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय गानपछि स्वर्गीय तारा सुब्बा तथा देशका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदप्रति एक मिनेट मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो।

कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव योगेशबाबु काफ्लेले गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका नेता तथा पूर्वसांसद घनश्याम खतिवडाले तारा सुब्बालाई धरानको विकासलाई स्पष्ट दृष्टिकोणका साथ अघि बढाउने दूरदर्शी र इमानदार नेतृत्वका रूपमा स्मरण गरे।

उनले तारा सुब्बाको अभाव आज पनि धरानको राजनीति र विकास यात्रामा गहिरोसँग महसुस भइरहेको उल्लेख गर्दै भने, "तारा सुब्बा केवल नगर प्रमुख होइन, समृद्ध धरानको सपना बोकेका असल नेतृत्वकर्ता हुनुहुन्थ्यो।"

पूर्व उपप्रमुख मञ्जु भण्डारीले तारा सुब्बासँग काम गर्दाका अविस्मरणीय अनुभव सुनाउँदै बसपार्क, विजयपुर सडक विस्तार र जनपथ सडकजस्ता दीर्घकालीन पूर्वाधार योजनाको आधार उहाँकै नेतृत्वमा तयार भएको स्मरण गरिन्।

उनले मेयर कप स्कुल ओलम्पिक र ग्रासरुट फुटबलजस्ता खेलकुद कार्यक्रममार्फत युवालाई खेलसँग जोड्ने अभियान सुरु गरेको उल्लेख गर्दै, "थोरै प्रचार, धेरै काम" भन्ने उहाँको कार्यशैली आजका जनप्रतिनिधिका लागि पनि अनुकरणीय रहेको बताइन्।

कोशी प्रदेशसभा सदस्य तथा एमाले प्रमुख सचेतक रमेश बस्नेतले विद्यार्थी राजनीतिदेखि नगर प्रमुखसम्मको तारा सुब्बाको संघर्षपूर्ण यात्रालाई स्मरण गर्दै जनताको सेवाका लागि उहाँले आफ्नो स्वास्थ्यसमेत बेवास्ता गरेको प्रसंग सुनाए।

उपचारको समयसमेत नगरसभाका लागि पछि सारेको घटनाले उहाँको कर्तव्यनिष्ठा र जनसेवाप्रतिको समर्पण स्पष्ट देखाउने उनले बताए।

नेकपा एमाले धरान उपमहानगर कमिटीका अध्यक्ष हर्कजंग एभेङ्गले तारा सुब्बा कुनै एक दलका मात्र नभई सम्पूर्ण धरानवासीका लोकप्रिय, कर्मठ र जनप्रिय नेता भएको बताए।

उनले तारा सुब्बाको सपना धरानलाई अझ सुन्दर, सफा र हरियालीयुक्त सहर बनाउने रहेको स्मरण गर्दै भने, "आज साउन १ गते हामी तारा सुब्बाको ९औँ स्मृति दिवस मनाइरहेका छौँ।

उहाँले देख्नुभएको 'ग्रिन सिटी'को सपना आज पनि जीवित छ। उहाँले सुरु गर्नुभएका योजनाहरू निरन्तर अघि बढिरहेका छन् र उहाँको अभाव सिंगो धरानले आज पनि गहिरोसँग महसुस गरिरहेको छ।"

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि खतिवडा, तारा सुब्बाकी दिदी इन्दु सुब्बा, विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि तथा सर्वसाधारणले तारा सुब्बाको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।

स्मृति दिवसकै अवसरमा धरान–१६ स्थित तारा सुब्बा स्मृति पार्कमा वृक्षारोपण कार्यक्रमसमेत आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ।

वि.सं. २०७४ को स्थानीय तह निर्वाचनमा अत्यधिक मतसहित धरानको प्रथम जननिर्वाचित नगर प्रमुख बनेका तारा सुब्बाको २०७५ साल साउन १ गते कार्यकालकै क्रममा असामयिक निधन भएको थियो।

इमानदार, विकासप्रेमी, सरल र जनमुखी नेतृत्वका रूपमा परिचित सुब्बालाई धरानवासीले आज पनि उत्तिकै सम्मान, श्रद्धा र आत्मीयताका साथ सम्झिरहेका छन्।

IMG-20260717-WA0007

 

हिबिस्कसमा हिज्जे प् ...

धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल ...

बराहक्षेत्रमा ब्राउन ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–६, ऐत ...

कोशीको सत्ता समीकरण ...

  विराटनगर/  कोशी प्रदेशको राजनीतिमा नय ...

अन्तिम पटक सँगै तास ...

लमजुङ/  बेंसीसहर नगरपालिका–८ का ५७ वर्षीय बु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved