धरान/ वातावरण संरक्षण, स्वस्थ जीवनशैलीको प्रवर्द्धन, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार र कोशी प्रदेश पर्यटन वर्ष २०८३ अभियानलाई थप टेवा पुर्याउने उद्देश्यका साथ धरानमा ‘कोरा राइड २०८३’ आयोजना हुने भएको छ।
पेडलर्स धरान माउन्टेन बाइकिङ क्लबले बुधबार पत्रकार सम्मेलन गर्दै साउन २ गते शनिबार बिहान ६ बजे धरान–२ स्थित भानुचोकबाट कार्यक्रम सुरु हुने जानकारी दिएको हो।
कार्यक्रमको उद्घाटन कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले गर्ने तय भएको क्लबले जनाएको छ।
क्लबका अध्यक्ष किशान मास्केका अनुसार नेपालमा सन् २०११ देखि सुरु भएको कोरा राइड विश्वव्यापी रूपमा सञ्चालन हुँदै आएको एउटा च्यारिटी तथा जनचेतनामूलक साइकल अभियान हो।
हरेक वर्ष श्रावण महिनामा आयोजना हुने यस अभियानमा नेपालसहित विश्वका विभिन्न सहरमा हजारौं साइकलयात्री सहभागी हुँदै आएका छन्। धरानमा भने सन् २०१७ देखि सुरु भएको कार्यक्रमलाई सन् २०२४ यता पेडलर्स धरानले निरन्तर आयोजना गर्दै आएको छ।
यस वर्ष ३०० भन्दा बढी राइडर सहभागी गराउने लक्ष्य राखिएको आयोजकले जनाएको छ। करिब ३० किलोमिटर दूरीको राइड भानुचोकबाट सुरु भई धरानका विभिन्न मुख्य सडक, धार्मिक तथा पर्यटकीय स्थल हुँदै लाङ्घाली सामुदायिक पार्कमा पुगेर समापन हुनेछ।
आयोजकका अनुसार राइडको मुख्य उद्देश्य साइकललाई वातावरणमैत्री यातायातका रूपमा प्रवर्द्धन गर्नुका साथै धरानका प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्नु हो। यस अभियानले कोशी प्रदेश पर्यटन वर्ष २०८३ लाई समेत सहयोग पुग्ने विश्वास लिइएको छ।
कार्यक्रममा सहभागी सबै राइडरलाई टी–सर्ट, मेडल, साइकलिङ बफ, खाना, खाजा, फलफूल र पिउने पानी उपलब्ध गराइनेछ। साथै, जिल्ला बाहिरबाट आउने सहभागीका लागि एक रात बस्ने र रातिको खानाको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ।
गत वर्षझैँ यस वर्ष पनि सहभागीको उत्साह बढाउन विभिन्न प्रायोजकबाट उपहार तथा पुरस्कार प्रदान गरिनेछ। यस वर्षको मुख्य आकर्षणका रूपमा एमटीबी अनिसबाट सहयोगमा माउन्टेन बाइक साइकल समेत पुरस्कार राखिएको आयोजकले जनाएको छ।
आयोजकले सबै साइकलप्रेमीलाई हेल्मेटसहित सुरक्षित रूपमा कार्यक्रममा सहभागी भई वातावरण संरक्षण, स्वस्थ जीवनशैली र धार्मिक पर्यटन प्रवर्द्धनको अभियानमा ऐक्यबद्धता जनाउन आग्रह गरेको छ।