मोरङ/ मोरङको कानेपोखरीमा मानवता नै लज्जित हुने घटना सार्वजनिक भएको छ।
१४ वर्षीया सुत्केरी बालिकामाथि ५५ वर्षीय ससुराले लगातार ६ दिनसम्म जबरजस्ती करणी गरेको र घटना श्रीमान्लाई सुनाउँदा उल्टै निर्घात कुटपिटको सिकार हुनुपरेको खुलेको छ।
पीडित बालिकाका अनुसार श्रीमान् र सासु भारत गएको मौका छोपेर ससुराले आफूमाथि जबरजस्ती गर्न थालेका थिए।
ससुराको व्यवहारबाट डराएकी उनी सानी छोरी बोकेर आफन्तको घरमा समेत पुगेकी थिइन्।
तर त्यहाँ पनि ससुराले पछ्याउन नछाडेको र दिउँसोसमेत सँगै सुत्न दबाब दिने गरेको उनको भनाइ छ।
अस्वीकार गर्दा ससुराले हतियार देखाउँदै आफू र छोरी दुवैलाई मारिदिने धम्की दिएको पीडितले बताएकी छन्।
डर र त्रासका कारण प्रतिवाद गर्न नसक्दा लगातार ६ दिनसम्म यौन हिंसा सहनुपरेको उनले प्रहरीसमक्ष बयान दिएकी छन्।
श्रीमान् र सासु भारतबाट फर्किएपछि उनले आफूमाथि भएको घटनाबारे जानकारी गराइन्। तर, न्याय र संरक्षण पाउनुको सट्टा उल्टै श्रीमान्बाट यातना भोग्नुपरेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत कात्तिक २९ गते राति कानेपोखरी गाउँपालिका–६ स्थित आफ्नै घरमा ५५ वर्षीय ससुराले सुत्केरी अवस्थामा रहेकी बुहारीमाथि जबरजस्ती करणी गरेका थिए।
घटनाबारे सूचना प्राप्त भएपछि प्रहरीले ससुरालाई नियन्त्रणमा लिई मंसिर १ गते अदालतबाट म्याद थप गरी जबरजस्ती करणी कसुरमा अनुसन्धान अघि बढाएको थियो।
ससुराबाट भएको यौन हिंसाबारे जानकारी पाएपछि २३ वर्षीय श्रीमान्ले आमासमेतको उपस्थितिमा पीडित बालिकालाई केरकार गर्दै निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ।
श्रीमान्ले कुटपिट गरेको भिडियो आफ्नै सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि घटना बाहिरिएको थियो।
पीडित बालिकाको गोपनीयता भङ्ग हुने गरी कुटपिटको भिडियो सामाजिक सञ्जालमा सम्प्रेषण गरेको आरोपमा प्रहरीले २३ वर्षीय श्रीमान्लाई मंसिर ९ गते पक्राउ गरेको हो।
हाल उनलाई इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा राखेर विद्युतीय कारोबार ऐन तथा बालविवाहसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं डीएसपी मकेन्द्रकुमार मिश्रले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकविरुद्ध हुने हिंसा र अपराधमा शून्य सहनशीलताको नीति अपनाउँदै दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरी सक्रिय रहेको बताएका छन्।