धरान/ कोशी प्रदेशकै प्रतिष्ठित विद्यार्थी फुटबल प्रतियोगिता ‘डीआईजीपी रनिङ कप–२०८३’ आगामी पुस ३ गतेदेखि धरानमा सञ्चालन हुने भएको छ। धरान–१३ स्थित नेपाल पुलिस स्कुलले आयोजना गर्ने प्रतियोगिता आठौँ संस्करण हो।
नेपाल पुलिस स्कुलले २०५८ सालमा स्थापना गरेको यो प्रतियोगिता २०६२/०६३ को जनआन्दोलन, भूकम्प र कोभिड–१९ लगायतका कारण लामो समय रोकिएको थियो। गत वर्षदेखि ‘फेयर प्ले फर फ्रेन्डसिप’ अर्थात् मित्रताका लागि निष्पक्ष खेल भन्ने नारासहित प्रतियोगितालाई पुनः निरन्तरता दिइएको हो।
प्रदेशभरिका विद्यार्थीलाई एउटै मैदानमा प्रतिस्पर्धा गराउने उद्देश्यसहित आयोजना हुन लागेको प्रतियोगितामा यसपटक पहाडी जिल्लाका विद्यालयलाई विशेष प्राथमिकता दिइने भएको छ। प्रतियोगिता संयोजक तथा नेपाल पुलिस स्कुलकी प्रहरी निरीक्षक अनिता महतका अनुसार पहाडी जिल्लाका विद्यालयको सहभागिता बढाउन विशेष पहल गरिनेछ।
प्रतियोगितामा कोशी प्रदेशका १६ विद्यालयले ‘पहिले आउनेलाई पहिलो प्राथमिकता’ का आधारमा सहभागिता जनाउन पाउनेछन्। पहाडी जिल्लाबाट सहभागी हुने विद्यार्थीका लागि खाना तथा बसोबासको व्यवस्था आयोजकले नै मिलाउने तयारी गरेको छ।
गत वर्षको तुलनामा यस वर्ष पुरस्कार राशि पनि वृद्धि गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताको विजेता विद्यालयले नगद १ लाख ५ रुपैयाँसहित रनिङ शिल्ड, ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार ५ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।
त्यस्तै, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता, राइजिङ प्लेयर र उत्कृष्ट प्रशिक्षकलाई जनही २ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीले ३ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछ भने प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई १ हजार ५ रुपैयाँ र प्रमाणपत्र प्रदान गरिनेछ।
खेलाडीलाई थप प्रोत्साहन गर्न प्रत्येक खेलका म्यान अफ द म्याच तथा फाइनल खेलका विधागत उत्कृष्ट खेलाडीलाई नेपाल पुलिस स्कुल धरानमा भर्ना हुँदा ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ।
खेल संयोजक सागर कार्कीका अनुसार कक्षा १० सम्म अध्ययनरत १६ वर्ष उमेर ननाघेका तथा अखिल नेपाल फुटबल संघ ९एन्फा० द्वारा आयोजित कुनै पनि लिगमा सहभागी नभएका विद्यार्थीले मात्र प्रतियोगितामा खेल्न पाउनेछन्। प्रतियोगिता ९ साइजको मैदानमा नकआउट प्रणालीमा सञ्चालन हुनेछ।
नेपाल प्रहरी प्रदेश कार्यालय धरानको खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताका लागि आयोजकले करिब १५ लाख रुपैयाँ बजेट अनुमान गरेको छ। प्रतियोगितामा सहभागी हुने प्रत्येक टोलीले ८ हजार रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ।
गत वर्षको प्रतियोगिताको उपाधि आयोजक नेपाल पुलिस स्कुल धरानको रातो टोलीले जितेको थियो। गत संस्करणमा सुनसरीका ८, झापाका २ र मोरङका ६ गरी १६ विद्यालय सहभागी भएका थिए।