वरिष्ठ कवि बम देवानको ‘मनका छालहरू’ लोकार्पण

  • असार ६, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/  नेपाली साहित्यका अग्रज स्रष्टा तथा वरिष्ठ कवि बम देवानको तेस्रो काव्यकृति ‘मनका छालहरू’ एक विशेष समारोहबीच धरानमा लोकार्पण गरिएको छ।

साहित्य, कला र संस्कृतिप्रति समर्पित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा कवि देवानको पाँच दशकभन्दा लामो साहित्यिक यात्राको सम्मान गरिएको थियो।

कार्यक्रममा कृष्ण पाख्रिन स्मृति प्रतिष्ठानका अध्यक्ष राजेश विद्रोही, वरिष्ठ कवि बम देवान, प्रकाशक भानेन्द्र सम्बाहाम्फे, डा. तुलसी गौतम, डा. अस्मिता विष्ट तथा धरान–१३ का वडा अध्यक्ष नेत्र काफ्ले लगायतका साहित्यप्रेमी र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

संखुवासभामा २००३ सालमा जन्मिएका कवि देवान नेपाली साहित्य र राजनीतिक चेतनाका परिचित नाम हुन्। उनको पहिलो कृति प्रकाशन भएको ५३ वर्षपछि तेस्रो कृति ‘मनका छालहरू’ पाठकमाझ आएको हो। ८० वर्षको उमेरमा पनि साहित्य सिर्जनामा देखिएको उनको निरन्तर सक्रियताले उपस्थित सबैलाई प्रेरित बनाएको थियो।

धरान–१३ का वडा अध्यक्ष नेत्र काफ्लेले बम देवानलाई जनप्रतिनिधिभन्दा पनि राष्ट्रिय स्तरका कविका रूपमा चिनिने व्यक्तित्व भएको बताए। साहित्य, कला र संस्कृतिको संरक्षण स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्दै उनले वडाको पहलमा ‘साहित्य, कला तथा संस्कृति प्रतिष्ठान’ स्थापना गरिएको जानकारी दिए।

“बम दाइका अझै धेरै सिर्जना अप्रकाशित अवस्थामा छन्। ती कृतिहरूलाई पनि प्रकाशनमा ल्याउन स्थानीय तहले बजेट तथा आवश्यक सहयोग गर्नुपर्छ,” उनले भने।

कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै डा. तुलसी गौतमले बम देवानलाई नेपाली कविताको एक महत्वपूर्ण स्तम्भका रूपमा चित्रण गरे। उनका अनुसार देवानका कवितामा सामाजिक यथार्थ, प्रगतिशील चेतना, दार्शनिक चिन्तन र राजनीतिक दृष्टिकोणको सशक्त अभिव्यक्ति पाइन्छ।

“कतिपयले प्रगतिवादी कवितालाई केवल नारामुखी साहित्यका रूपमा व्याख्या गर्ने गर्छन्। तर बम देवानका कविताले विचार र कलाको उत्कृष्ट संयोजन प्रस्तुत गरेर त्यो धारणा गलत सावित गरेका छन्,” उनले बताए।

कार्यक्रममा वक्ताहरूले कृतिका प्रकाशक भानेन्द्र सम्बाहाम्फेको भूमिकाको पनि उच्च प्रशंसा गरे। उनीहरूले मोतीराम भट्टले भानुभक्तका रचनाहरूलाई जोगाएर सार्वजनिक गरेजस्तै भानेन्द्रले पनि बम देवानका वर्षौंदेखि थन्किएका सिर्जनाहरूलाई पुस्तकका रूपमा पाठकमाझ ल्याउन महत्वपूर्ण योगदान दिएको उल्लेख गरे।

आफ्नो भनाइमा प्रकाशक सम्बाहाम्फेले गुरु र अग्रज स्रष्टाको कृति प्रकाशन गर्न पाएकोमा गर्व महसुस भएको बताए।

कार्यक्रममा कविताले स्थानीय विषयवस्तुसँगै विश्वव्यापी मानवीय संवेदनालाई पनि समेट्नुपर्ने धारणा व्यक्त गरिएको थियो। बम देवानका कवितामा धरान र नेपालको माटो मात्र नभई विश्वका विभिन्न समाज, युद्धका पीडा, मानवीय संघर्ष र आशाका स्वरहरू पनि गुन्जिएको वक्ताहरूले बताए।

समारोहमा कवितावाचनसमेत गरिएको थियो। उपस्थित साहित्यप्रेमीहरूलाई पुस्तक अध्ययन गरी प्रतिक्रिया दिन आग्रह गर्दै वक्ताहरूले बम देवानको सिर्जनात्मक ऊर्जा युवा पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरे।

कार्यक्रमको समापन गर्दै कृष्ण पाख्रिन स्मृति प्रतिष्ठानका अध्यक्ष राजेश विद्रोही तथा कार्यक्रमका सभापतिले नेपाली कविताका धरोहर बम देवानका सिर्जनालाई पाठकमाझ ल्याउन भानेन्द्र सम्बाहाम्फेले खेलेको भूमिकाको प्रशंसा गरे।

उनले बम देवानका कविताको मूल शक्ति प्रगतिशील चेतना, कलात्मक प्रस्तुति र नेपाली मौलिक संस्कृतिप्रतिको गहिरो प्रतिबद्धता रहेको बताए।

कार्यक्रममा सहभागी सबैले वरिष्ठ कवि देवानको सुस्वास्थ्य, दीर्घायु तथा आगामी दिनमा थप सिर्जनात्मक कृतिहरू प्रकाशन हुने शुभकामना व्यक्त गरेका थिए।

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved