बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्नपूर्ण चोकमा घरायसी विवादपछि श्रीमतीलाई फलामको रडले घाइते बनाएका एक वृद्धको तीनतलाबाट हाम्फाल्दा मृत्यु भएको छ।
शुक्रबार बिहान करिब ५:३० बजे ७२ वर्षीय घिरेन राजवंशीले घरायसी विवादका क्रममा आफ्नी ६५ वर्षीया श्रीमती गंगामुनी राजवंशीको पेटमा फलामको रडले प्रहार गरी घाइते बनाएका थिए।
घाइते गंगामुनीलाई उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो। उनको पेटमा चोट लागेको भए पनि अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
श्रीमतीलाई घाइते बनाएलगत्तै घिरेन राजवंशी घरको तेस्रो तलामा पुगेका थिए। त्यहाँबाट हाम्फाल्दा उनको टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको थियो। उनलाई पनि तत्काल बिर्तासिटी अस्पताल पुर्याइएको थियो।
उपचारकै क्रममा बिहान ६:४५ बजे घिरेन राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।