-युवराज विष्ट
भोजपुर/ भोजपुरको षडानन्द नगरपालिका–२ स्थित जनोदय आधारभूत विद्यालयको नवनिर्मित ११ कोठे आनुधिक बालमैत्री विद्यालय भवन उद्घाटन गरिएको छ।
विद्यार्थीहरूलाई सहज, सुरक्षित तथा गुणस्तरीय पठनपाठनको वातावरण उपलब्ध गराउने उद्देश्यले यूनाइटेड वल्र्ड स्कूल (युडब्लुएस) नेपालको साझेदारीमा भवन निर्माण गरिएको हो।
विद्यालय भवनसँगै पाँच कोठे बाल तथा अपाङ्गमैत्री शौचालयसमेत निर्माण गरिएको छ ।
भवन उद्घाटन कार्यक्रममा दातृ संस्था ट्रपिक कम्पनीका उप–प्रमुख कार्लटन कोनेलले भवन निर्माणमा मात्र सीमित नरही आगामी पाँच वर्षसम्म विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले विद्यालयलाई विद्यार्थीको भविष्य निर्माण गर्ने तथा उनीहरूलाई सपना देख्न र त्यसतर्फ अघि बढ्न प्रेरित गर्ने केन्द्रका रूपमा विकास गरिने बताए ।
षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले नगरपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै विभिन्न सुधारात्मक कार्यक्रम अघि बढाइरहेको जानकारी दिए ।
उनले युडब्लुएस नेपालको सहकार्यमा निर्माण भएको सुविधा सम्पन्न भवनले पठनपाठनलाई प्रभावकारी, व्यवस्थित र प्रविधिमैत्री बनाउने विश्वास व्यक्त गरे ।
नगरपालिकाको पहल र युडब्लुएस नेपालको सहकार्यमा निर्माण भएको सुविधा सम्पन्न भवनले पठनपाठनलाई थप सहज बनाएको उल्लेख गरे ।
‘शिक्षाको विकास बिना समग्र विकास सम्भव छैन,’ प्रमुख उदासले भने,‘समुदाय, स्थानीय तह र साझेदार संस्थाबीचको सहकार्यबाट भवन निर्माण सफल भएका छौँ ।
यसले बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न सहयोग पुग्नेछ।’
उपप्रमुख प्रमिला राईले नगरपालिकाभित्र शिक्षा क्षेत्रमा भइरहेको प्रगतिको चर्चा गर्दै युडब्लुएस नेपालको सहकार्यमा हाल चार वटा विद्यालयमा भवन निर्माणसँगै पाँच वर्षे शैक्षिक सुधार कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।
उनका अनुसार थप दुई विद्यालयमा पनि भवन निर्माण तथा शैक्षिक साझेदारीका लागि सम्झौता भइसकेको छ।
‘हामी शून्य शैक्षिक गरिबीको लक्ष्यसहित अघि बढिरहेका छौं,’उहाँले भने ‘यसका लागि भौतिक पूर्वाधारसँगै सिकाइको गुणस्तर सुधार, शिक्षक तालिम र विद्यार्थी केन्द्रित कार्यक्रमहरूलाई प्राथमिकता दिएका छौं।’
युडब्लुएस नेपालका निर्देशक अभिनाश झाले युडब्लुएसमार्फत भोजपुरमा आठ विद्यालय भवन निर्माण सम्पन्न भइसकेको बताए। साथै उहाँले २० विद्यालयमा ‘एजुकेसन प्लस’ कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।
सन् २०१५ मा स्थापना भएको यस संस्थाले हाल भोजपुर, संखुवासभा, ताप्लेजुङ, तनहुँ र गुल्मी जिल्लामा शैक्षिक सुधारका क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएको उनले बताए ।