-तस्बिरमा पत्रकार अर्जुन आचार्यलाई आक्रमण गर्ने मध्येका युवराज पाठक
झापा/ झापा क्षेत्र नम्बर ५ मा चुनावी समाचार संकलन गर्दै गर्दा पत्रकारमाथि साङ्घातिक आक्रमण गरेको आरोपमा मुख्य आरोपी युवराज पाठक पक्राउ परेका छन्।
कमल गाउँपालिका–६ का ४५ वर्षीय पाठकलाई ‘अभद्र व्यवहार’ मुद्दामा जिल्ला प्रशासन कार्यालय झापाबाट जारी पक्राउ पुर्जीका आधारमा शुक्रवार इलाका प्रहरी कार्यालय दमक र झिलझिलेको संयुक्त टोलीले शिवसताक्षी नगरपालिका–४ बाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ।
गत फागुन १४ गते नेकपा एमालेको निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रमको समाचार संकलन गर्दै गरेका पत्रकार अर्जुन आचार्यमाथि कमल–६ जीवनचोकमा एमाले निकट ‘भोलेन्टियर्स फोर्स’ का सदस्यहरूले मुक्का र बुट प्रहार गरेका थिए। आक्रमणका क्रममा आचार्यको मोबाइल र चस्मा समेत लुटिएको थियो।
उनले जबर्जस्ती गाडीमा चढाएर अपहरण गर्ने प्रयास भएको र दमकमा धम्की दिइएको समेत बताएका छन्।
पीडित पत्रकार आचार्यले आक्रमणकारीको खिलाफ किटानी जाहेरी दर्ता गरेका थिए। तर घटना भएको १५ दिनसम्म पनि दोषी पक्राउ नभएकोमा पत्रकार संघसंस्थाहरूले सुरक्षा निकायको कार्यक्षमता र दण्डहीनता बारे प्रश्न उठाएका थिए।
हाल युवराज पाठक पक्राउ परेका भए पनि अन्य आरोपीहरू अझै फरार छन्। प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले घटनालाई गम्भीरतापूर्वक लिएर खोजी जारी रहेको बताइन्।
पत्रकार संघसंस्थाहरूले प्रेस स्वतन्त्रतामाथि आक्रमण भएको भन्दै दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेका छन्।