काठमाडौं/ देशमै पहिलोपटक आयोजित चेस पजल सोल्भिङ प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।
हिमालयन चेस एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा दुई क्याटगोरीमा ६ महिला र १५ पुरुष गरी कुल २१ खेलाडीले सहभागिता जनाए।
वल्र्ड फेडेरेसन फर चेस कम्पोजिसन (डब्लुएफसीसी) सँगको सहकार्यमा आयोजित यो रेटेड प्रतियोगितामा अत्यन्त अनुभवी खेलाडीका लागि तोकिएको क्याटगोरी–१ मा सहभागिता भएन।
कम अनुभवी खेलाडीका लागि क्याटगोरी–२ तथा १३ वर्षमुनिका खेलाडीका लागि क्याटगोरी–३ मा भने चार घन्टासम्म बसेर डब्लुएफसीसीबाट पठाइएका चेस पजल सोल्भ गराइएको थियो। क्याटगोरी–२ मा १२ र क्याटगोरी–३ मा ६ वटा पजल सोल्भ गर्न दिइएको थियो।
क्याटगोरी–२ मा ११ जना र क्याटगोरी–३ मा १० जना खेलाडीले पजल सोल्भ गरे।
६ देखि २४ वर्ष उमेर समूहका यी खेलाडीहरू ११ वटा विभिन्न स्कुल तथा कलेजबाट सहभागि भएका हुन्। क्याटगोरी–२ मा सहभागी खेलाडीहरूले डब्लुएफसीसीको अन्तर्राष्ट्रिय रेटिङ प्राप्त गर्नेछन्।
एकेडेमीका निर्देशक याईशाष यासिर खम्बूका अनुसार सोल्भ गरिएका उत्तरपत्र डब्लुएफसीसीमा पठाइसकिएको छ र जाँच सम्पन्न भएपछि यही हप्ता नतिजा सार्वजनिक गरिनेछ।
चेस पजल सोल्भिङले खेलाडीको विश्लेषणात्मक क्षमता वृद्धि गर्न र रणनीतिक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।
डब्लुएफसीसीसँगको सहकार्यमा इन्टरनेसनल सोल्भिङ कन्टेस्ट (आईएससी) २०२६ अन्तर्गतको प्रतियोगिताको रूपमा हिमालयन चेस एकेडेमीले काठमाडौंमा देशकै पहिलो पजल सोल्भिङ कन्टेस्ट आयोजना गरेको हो।
आईएससीको २२औं संस्करणमा काठमाडौंसहित २७ देशका ६५ सहरमा एकैसाथ आइतबार (२५ जनवरी) ९ सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेका छन्। हरेक सहरबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले जर्मनीको मगडेबर्गमा २०२६ अगस्ट ८ देखि १५ सम्म हुने ४९औं वल्र्ड चेस सोल्भिङ च्याम्पियनसिपमा सहभागिता जनाउने अवसर पाउनेछन्।
२०८० साल चैत १ गते औपचारिक उद्घाटनपछि व्यवस्थित रूपमा सञ्चालनमा आएको हिमालयन चेस एकेडेमीले आयोजना गरेको यो १२औं प्रतियोगिता हो।
यसअघि एकेडेमीले ब्लिट्ज, र्यापिड, क्लासिकल तथा फ्रिस्टाइल चेसका ११ प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ।
एकेडेमीले थापाथली कौशलटारमा नियमित प्रशिक्षण सञ्चालन गर्दै आएको छ भने अनलाइन, स्कुल तथा समुदायस्तरमा पनि वर्कशप र प्रशिक्षण कार्यक्रम गर्दै आएको छ।