धरान/ किरात राई यायोक्खा सुनसरीले नयाँ वर्ष यलम्बर संवत ५०८६ को अवसरमा वडा कार्यसमिति स्तरीय विविध खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ।
आगामी माघ १ गतेदेखि यलम्बर संवत ५०८६ सुरु हुँदैछ।
नयाँ वर्षलाई भव्य रूपमा मनाउने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितालाई ‘यलम्बर कप ५०८६’ नाम दिइएको छ। खेलकुदमार्फत सांस्कृतिक पहिचान प्रवर्द्धन गर्दै नयाँ वर्ष उत्सवमय बनाउने योजना रहेको किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले जानकारी दिए।
अध्यक्ष राईले यलम्बर संवतलाई विश्वकै प्राचीन संवतको रूपमा उल्लेख गर्दै यसलाई राज्यस्तरबाट लागू गर्नुपर्ने आवश्यकता औँल्याए।
“विश्वमा प्रचलित संवतहरूमध्ये यलम्बर संवत सबैभन्दा प्राचीन हो। यस्तो ऐतिहासिक संवतलाई अब सरकारले औपचारिक रूपमा लागू गर्नुपर्छ,” उनले भने।
यलम्बर कप ५०८६ को उद्घाटन माघ १ गते एन्फा एकेडेमी, धरान–१७ मा हुनेछ। प्रतियोगिताअन्तर्गत विभिन्न मितिमा फरक–फरक खेलहरू सञ्चालन गरिने छन्।
कार्यक्रम तालिका :
माघ २ गते : ५ किलोमिटर म्याराथुन – किराया भवन, धरान–१० माघ ३ गते : बुद्धिचाल (चेस) – साकेला सांस्कृतिक पार्क, धरान माघ ४ गते : छेलो – साकेला सांस्कृतिक पार्क माघ ५ गते : पुरुष फुडसल – धरान बिग फुटसल, धरान–१५ माघ ६ गते स् महिला फुडसल – हाङसा फुटसल, धरान–८ माघ ७ गते स् तानबुने – किरात सुम्निमा भवन, इटहरी
माघ ८ गते बास्केटबल – भानुचोक माघ ९ गते ब्याडमिन्टन – अमर हाट, धरान–१३ माघ १० गते यलम्बर कप समापन – अमर हाट हल, धरान–१३
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा टिमलाई पुरस्कार प्रदान गरिने अध्यक्ष राईले बताए। यलम्बर कप ५०८६ सम्पन्न गर्न करिब १६ लाख ७९ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।