श्रम संस्कृति पार्टी छाडेर डा. मित्र परियार नेकपामा ‘प्रचण्ड’को हातबाट पार्टी सदस्यता
- पुस ११, २०८२
- कोशीपत्र/संवाददाता
धरान/ श्रम संस्कृति पार्टीको उपाध्यक्ष पदबाट निलम्बित डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
शुक्रबार बिहान नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परियारलाई औपचारिक रूपमा पार्टीमा स्वागत गर्दै सदस्यता प्रदान गरेका हुन्। स्रोतका अनुसार परियारलाई नेकपाको केन्द्रीय सदस्यको जिम्मेवारी दिइने तयारी गरिएको छ।
डा. परियारले श्रम संस्कृति पार्टी परित्याग गरेको पुष्टि गर्दै पार्टी अध्यक्ष हर्क साम्पाङप्रति तीव्र असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले “मलाई फोन गरेर रोएर झुक्न र सार्वजनिक रूपमा माफी माग्न दबाब दिइयो, तर मैले ६० लाख दलितको शिर झुक्न दिइनँ” भनेका छन्। साथै, उनले आफूले सांसद पदबाट कुनै आत्मसमर्पण नगरेको स्पष्ट पारेका छन्।
गत पुस ५ गते बुटवलमा आयोजित पार्टी सभामा प्रमुख अतिथिभन्दा अगाडि बोल्न नदिइएको र आफ्नो बोल्ने क्रममा पार्टी अध्यक्ष हर्क साम्पाङसँग टीका लगाउने विषयमा विवाद भएपछि परियारले आयोजकको गम्भीर गल्ती भएको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि जनाएका थिए।
उक्त घटनापछि पार्टीले उनलाई उपाध्यक्ष पदबाट निलम्बन गरेको थियो।
राजनीतिक वृत्तमा डा. परियारको नेकपा प्रवेशलाई श्रम संस्कृति पार्टीभित्रको आन्तरिक विवाद र नेतृत्व शैलीप्रतिको असन्तोषको प्रतिफलका रूपमा हेरिएको छ।