-फाइल तस्बिर
धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस्मिक बाढीले दुई जनाको ज्यान गएको छ।
जिल्लाका दुई फरक स्थानका खहरे खोलामा आएको बाढीमा एक महिला र एक वृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी ४३ वर्षीया शान्ता राई र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका ७१ वर्षीय परशुराम परियार रहेका छन्।
प्रहरीका अनुसार छाँगे खोलामा आएको आकस्मिक बाढीले शान्ता राईलाई बगाएको हो। आफन्तको घर गएकी उनी रातिसम्म घर नफर्किएपछि परिवार र स्थानीयले खोजी गरेका थिए।
खोजतलासका क्रममा उनी खोलामा मृत अवस्थामा फेला परेकी थिइन्। खोला तर्ने क्रममा एक्कासि आएको बाढीले उनलाई बगाएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।
यस्तै, केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा खहरे खोलामा आएको बाढीमा परी ७१ वर्षीय परशुराम परियारको पनि मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। घटनाबारे थप विवरण संकलन भइरहेको छ।
लगातारको वर्षासँगै खोटाङका विभिन्न खोलानालामा पानीको सतह बढ्दै गएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले खोलानाला आसपास नजान तथा सतर्कता अपनाउन सर्वसाधारणसँग आग्रह गरेको छ।