धरान/ केही समयदेखि विभिन्न कारणले बन्द रहेको वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको फार्मेसी सेवा पुनः सञ्चालनमा आएको छ।
प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई सुलभ तथा सुपथ मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्यसहित शुक्रबारदेखि फार्मेसी सेवा पुनः सुरु गरिएको हो।
पौष ११ गते आयोजित एक कार्यक्रमबीच प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठ, शिक्षाध्यक्ष प्रा.डा. संजिव कुमार शर्मा, रजिष्ट्रार प्रा.डा. सूर्य प्रसाद संग्रौला तथा अस्पताल निर्देशक डा. जगत नारायण प्रसादले संयुक्त रूपमा सटर खोलेर फार्मेसीको औपचारिक उद्घाटन गरेका हुन्।
प्रतिष्ठानले सञ्चालनमा ल्याएको फार्मेसीबाट नेपाल सरकारको स्वास्थ्य बीमामा आबद्ध सेवाग्राहीहरूले समेत नियमानुसार औषधि प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ।
सुलभ मूल्यमा गुणस्तरीय औषधि उपलब्ध हुने भएपछि बिरामी तथा सेवाग्राहीहरूलाई ठूलो राहत मिल्ने विश्वास लिइएको छ।
प्रतिष्ठानकी प्रवक्ता प्रा.डा. अन्जु प्रधानका अनुसार उपचारका लागि प्रतिष्ठानमा आउने सम्पूर्ण बिरामी वर्गले यही फार्मेसीबाट औषधि खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।
फार्मेसी पुनः सञ्चालनसँगै बिरामीको उपचार प्रक्रिया थप सहज र किफायती हुने अपेक्षा गरिएको छ।