भेडेटारमा १३ औँ फुड फेस्टिभल, ६० हजार पर्यटक भित्र्याउने लक्ष्य
- पुस ९, २०८२
- कोशीपत्र/संवाददाता
-फणिन्द्र तिम्सिना
धरान/ अंग्रेजी नयाँ वर्ष सन् २०२६ को अवसर पारेर पूर्वि नेपालको चर्चित पर्यटकीय गन्तव्य भेडेटारमा १३ औँ भेडेटार फुड फेस्टिभल आयोजना हुने भएको छ।
होटल एशोसिएसन भेडेटारको आयोजनामा आगामी पौष १६ देखि १८ गतेसम्म तीन दिनसम्म फेस्टिभल सञ्चालन हुने भएको हो।
आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत फुड फेस्टिभलको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। फेस्टिभलले भेडेटारको पर्यटन, होटल व्यवसाय, कृषि र स्थानीय उत्पादनको प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।
फेस्टिभल अवधिभर राई, लिम्बु, मगर, गुरुङ, याम्फु, तामाङ तथा नेवारी समुदायका परम्परागत जातीय खानाका परिकार, स्थानीय अर्गानिक तरकारी तथा फलफूल, कृषि तथा घरेलु उत्पादनका स्टलहरू राखिनेछन्।
साथै स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, मौलिक सांस्कृतिक झाँकी, माउण्टेन बाइकिङ, प्याराग्लाइडिङजस्ता साहसिक गतिविधि पनि फेस्टिभलका प्रमुख आकर्षण रहनेछन्।
होटल एशोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले फुड फेस्टिभलमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै भेडेटारको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य रहेको बताए।
उनका अनुसार फेस्टिभलबाट करिब २ करोड ५० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार हुने र ५० देखि ६० हजार पर्यटक भेडेटार भित्र्याउने लक्ष्य लिइएको छ।
फुड फेस्टिभलसँगै साँगुरीगढी गाउँपालिकाले कृषि मेला तथा प्रदर्शनीसमेत आयोजना गर्ने भएको छ।
गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईका अनुसार स्थानीय कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुको बजारीकरण, मूल्याङ्कन तथा नगद पुरस्कारसहित सम्मान गर्ने उद्देश्यले कृषि मेला आयोजना गरिएको हो।
महोत्सव अवधिभर पर्यटकलाई भेडेटार आसपासका प्रमुख पर्यटकीय स्थलहरू — स्काई वाक, सैलुङडाँडा (चार्ल्स भ्यु टावर), पाथिभरा देवी मन्दिर, शंखेश्वर मन्दिर, थाकल डाँडा, आत्मा घर, जनजाति पार्क थुम्की, सिम्सुवा (नमस्ते) झरना, साँगुरीगढी, नाम्जे होमस्टे, ध्वजे डाँडा, ओखे भ्यु टावर लगायत स्थानमा आवतजावतको व्यवस्थासमेत मिलाइने आयोजकले जनाएको छ।
समुद्री सतहबाट १४२० देखि १७०५ मिटर उचाइमा अवस्थित भेडेटार गर्मी छल्न उपयुक्त रमणीय स्थलका रूपमा परिचित छ। CNN को सर्वेक्षणमा समेत विश्वकै घुम्नैपर्ने गन्तव्यमा सूचीकृत भेडेटार फुड फेस्टिभलमार्फत अझ अन्तर्राष्ट्रिय रूपमा चिनिने आयोजकको विश्वास छ।
फेस्टिभलका आयोजक होटल एशोसिएसन भेडेटार, सह–आयोजक प्राकृतिक वातावरण स्रोत तथा पर्यटन भेडेटार र भेडेटार आमा समूह रहेका छन्। कार्यक्रमको सहकार्य साँगुरीगढी गाउँपालिका, नेपाल पर्यटन बोर्ड तथा न्यु भेडेटार पाथिभरा क्लबले गरेका छन्।