धरान/ सुनसरी उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूका लागि संस्थागत विकास तथा सुशासनसम्बन्धी तालिम आयोजना गरिएको छ।
संघको कार्यक्षमता अभिवृद्धि, दीर्घकालीन योजना र संस्थागत आचरण सुदृढ गर्ने उद्देश्यले आयोजित तालिममा पदाधिकारीहरूको काम, कर्तव्य र अधिकारका साथै स्थानीय तहका राजस्वसम्बन्धी विषयमा गहन छलफल गरिएको थियो।
तालिममा चर्चित प्रशिक्षक मोहन श्रेष्ठ र धरान उपमहानगरपालिकाका राजस्व प्रशासन प्रमुख खगेन्द्र खतिवडा ले सहजीकरण गरेका थिए।
उनीहरूले असल संस्थागत अभ्यास, स्पष्ट मार्गनिर्देशन, प्रभावकारी बैठक सञ्चालन र स्थानीय तहसँग समन्वयका विषयमा सहभागीहरूलाई प्रशिक्षण दिएका थिए।
संघका अध्यक्ष गोपाल श्रेष्ठ ले संस्थाको भावी योजना र सुशासन प्रवर्द्धनका लागि यस्तो तालिम उपयोगी भएको बताए। “संस्थाको विकास, असल बैठक सञ्चालन र स्थानीय तहको राजस्वसम्बन्धी विषयमा महत्वपूर्ण ज्ञान प्राप्त गरेका छौँ,” अध्यक्ष श्रेष्ठले भने।
भेडेटारस्थित होटल लाली बसाहा मा सम्पन्न तालिमका संयोजक संघका प्रचार तथा संगठन सचिव विष्णु बराल रहेका थिए।
तालिममा सहभागी नवमनोनित सदस्य सबिता राई ले यस्ता कार्यक्रमले कार्यसमितिमा ऊर्जा थप्नुका साथै एकता र कार्यदक्षता बढाउने बताइन्।
मनोनित सदस्यलाई सपथ ग्रहण
तालिमकै उद्घाटन समारोहमा सुनसरी उद्योग वाणिज्य संघको सञ्चालक समितिबाट तथा अध्यक्षद्वारा मनोनित सदस्यहरूलाई सपथ ग्रहण गराइएको थियो।
समापन समारोहमा अध्यक्ष श्रेष्ठले मनोनित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई प्रमाण–पत्र वितरण गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।