तस्बिर :मृतक प्रेमकुमार मिश्र, बाँया पत्रकार सम्मेलन
सुनसरी/ कामधेनु दुग्ध विकास सहकारीका बजार प्रतिनिधि प्रेमकुमार मिश्रको आत्महत्या प्रकरणले संस्थाभित्र लामो समयदेखि दबिएको कलह सतहमा ल्याइदिएको छ।
कात्तिक १७ गते झापाका मिश्रले आत्महत्या गरेपछि सुरु भएको आरोप–प्रत्यारोप अझ चर्कँदै गएको छ।
घटनापछि सहकारीले पूर्वअध्यक्ष कृष्णप्रसाद अधिकारी र शेयर सदस्य मनोज दाहाललाई सदस्यताबाट हटाएको छ भने कर्मचारी तेजप्रसाद सुवेदीलाई तीन महिनाका लागि निलम्बन गरेको छ। एकैदिन तीन जनामाथि गरिएका कारबाहीले संस्थाभित्रको अस्थिरता झन् तीव्र बनेको छ।
निष्कासनमा परेका अधिकारी, दाहाल र निलम्बित सुवेदीले संयुक्त पत्रकार सम्मेलन गर्दै आफूहरूमाथि थोपारिएको कारबाही ‘विधि, प्रक्रिया र आधारविहीन’ रहेको दाबी गरे।
तीन कार्यकाल अध्यक्ष भोगिसकेका अधिकारीले हालका अध्यक्ष यादपप्रसाद ढकालमाथि ‘व्यक्तिगत रिसइवीमा बाहुबली शैलीका निर्णय’ गरेको आरोप लगाए। उनले आरोपपत्रमा उल्लेख गरिएको ‘भ्रामक समाचार सम्प्रेषण’ को दाबी मनगढन्ते र तथ्यहीन भएको बताए।
शेयर सदस्य मनोज दाहालले अध्यक्ष ढकालका गलत गतिविधि औंल्याउँदा उल्टै कारबाहीको लक्ष्य बनाइएर आफूहरूलाई थिचोमिचो गरिएको आरोप लगाए। निलम्बित कर्मचारी सुवेदीले त ‘जालझेल गरेर जागिरबाट हटाउने नियत’ देखिने गरी आरोप लगाइएको बताए।
यता, अध्यक्ष ढकालले भने कारबाही ‘आवश्यक प्रमाण’ का आधारमा भएको जिकिर गरे। उनका अनुसार सुवेदीले मृतकका परिवारलाई उत्तेजित पार्ने काम गरेको ठोस प्रमाण छ भने अधिकारीको गतिविधिले सहकारीको इमेज नै बिग्रिएको आरोप उनले दोहोर्याए। ढकालले दाहाल र सुवेदीले आफूलाई ‘नोक्सान पुर्याउने योजना’ बनाएको सूचना आएपछि समितिहरूको बैठकमार्फत निर्णय गरिएको दाबी गरे।
मृतक मिश्रले छोडेको सुसाइड नोटमा बजार प्रमुख रञ्जित झा र सहायक शेरबहादुर खड्कालाई आत्महत्याको जिम्मेवार ठहराइएको छ। संस्थाको सात लाखभन्दा बढी रकम उठाउन नसकिएको, केही रकम व्यापारीहरूले संस्था कै खातामा बुझाइसकेपछि मिश्र मानसिक दबाबमा परेको भन्दै पत्रकार सम्मेलनमा तथ्य प्रस्तुत गरियो।
सहकारीमा एकलौटी निर्णय र पारदर्शिताको अभाव बढ्दै गएको आरोप लगाउँदै पीडित पक्षले प्रदेश सहकारी रजिस्ट्रार कार्यालयमा औपचारिक उजुरी दर्ता गराएको जानकारी पनि दिइयो।