धरान/ एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड, धरान शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मंगलबार पवित्र धार्मिक स्थल श्री पिन्डेश्वर बाबाधाम व्यवस्थापन समितिलाई सरसफाइ सामग्री हस्तान्तरण गरेको छ।
बैंकले मन्दिर परिसरलाई सफा र व्यवस्थित राख्ने उद्देश्यले १० थान डस्टबिन, ५ थान डस्टपेल, ५ थान कुचो र ५ थान झाडु प्रदान गरेको हो।
कार्यक्रममा धरान–१४ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले बैंकको सामाजिक पहलप्रति खुशी व्यक्त गर्दै मन्दिर क्षेत्रको भीडभाड र धार्मिक महत्त्वका कारण यस्तो सहयोग अत्यन्त उपयोगी रहने बताए।
यस्तै, पिन्डेश्वर बाबाधाम व्यवस्थापन समितिका अध्यक्ष विकास वनेपालीले प्रदान गरिएका सामग्रीहरूले मन्दिर परिसर सफा राख्न महत्वपूर्ण भूमिका खेल्ने भन्दै बैंकलाई धन्यवाद दिए।
एक्सेल बैंकका इटहरी क्लस्टर प्रमुख दिपक कुमार दासले आगामी दिनमा पनि समाजसँग जोडिएर थप सामाजिक गतिविधिमा सहभागी हुने प्रतिवद्धता जनाए।
धरान शाखा प्रमुख विशाल राईले बैंकले धरानबाट खाता सञ्चालन, निक्षेप, कर्जा, रेमिट्यान्स, लकर, सुन कर्जा लगायतका आधुनिक बैंकिङ सेवाहरू प्रदान गरिरहेको जानकारी दिए।
बैंकको यो सामाजिक योगदानले धार्मिक क्षेत्रको सफाइ र व्यवस्थापनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
