धरान/उज्यालो नेपाल पार्टीका नेता एवम् ऊर्जामन्त्री कुलमान घिसिङ पूर्वी नेपालको भ्रमणमा निस्किएका छन् ।
उज्यालो नेपालको पार्टीका केन्द्रीय सदस्य डकेन्द्र थेगिमका अनुसार संगठन विस्तार र कार्यकर्ता भेटघाटका लागि कुलमान देश दौडाहामा लागेका हुन् ।
पूर्वमा धरानका मेयर हर्क साम्पाङले खोलेको श्रम पार्टीनिकट कयौं पहिचानवादी नेताहरू उज्यालो नेपालमा जोडिएका छन् । इलाम २ को उपचुनावमा उठेका थेगिम र डा. महेन्द्र लावतीसहितका नेता कुलमानको पार्टीमा जोडिएका छन् । त्यसले गर्दा पूर्वमा हर्कलाई केही धक्का लागेको छ ।
हर्कले अहिले पूर्वी पहाडमा आफ्नो पार्टीको संगठन विस्तार अभियानलाई तीव्र बनाएका छन् । यस्तो अवस्थामा कुलमान पनि त्यही अभियान लिएर पूर्व नेपाल दौडाहामा निस्किएका हुन् ।
'हामीले पार्टीको अभियान लिएर साथीहरूसँग छलफल गर्नका लागि पूर्वआएका हौं', थेगिमले भने, 'निकै ठूलो संख्यामा विभिन्न पेशामा आबद्ध भएका व्यक्तिहरू विद्यार्थी, युवा, शिक्षक लगायतसँग कुरा भइरहेको छ ।' थेगिमका अनुसार धरान बसाइमा पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र कुलमानबीच भेटवार्ता भएन ।
हर्कले पछिल्लो समय बालेनमाथि सामाजिक सञ्जालमा निरन्तर आक्रमण गरिरहेका छन् । बालेनले आफूलाई मन्त्री हुनबाट रोकेको आरोप समेत उनले लगाउने गरेका छन् ।
हर्कसँग फाटो हुँदा यता कुलमान भने बालेनसँग नजिकिएको प्रमाण उनैले सार्वजनिक गरेका छन् ।
पूर्वका थुप्रै पहिचानवादीहरू कुलमानको उज्यालो नेपाल पार्टीमा जोडिएसँगै हर्क र कुलमानको पनि दुईको दूरी बढेको छ। कुलमान अहिले काठमाडौंका मेयर बालेन्द्र साहसँग नजिकिएका छन् । यी दुई एकै पार्टीमा सहयात्राबारे संवादमा छन् ।
कुलमानले आइतबार मात्रै बालेनसँगको फोटो सार्वजनिक गर्दै देश बनाउने अभियानमा सँगसँगै रहेको सन्देशफेसबुकमार्फत् दिएका छन् ।
धरान पुगेका बेला पनि हर्कले भेट्न ईच्छा नदेखाएपछि बालेनसँग शनिबार बिहानै काठमाडौंमा खिचिएको फोटो सार्वजनिक गरेर राजनीतिक सन्देश दिन खोजेका छन् ।
स्रोतका अनुसार धरान पुग्दा पनि हर्कले कुलमानसँग भेट्न नचाहेको बताइएको छ। त्यसपछि कुलमानले बालेन र आफ्नो फोटो सार्वजनिक गरेर हर्कलाई सन्देश दिएका हुन् ।
कुलमानले वैकल्पिक शक्ति मेरो दलमात्रै ठूलो भनेर अल्झिनु समस्या हुने सन्देशसमेत श्रम संस्कृति पार्टीका हर्कलाई धरानमै आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा दिए ।
धरानमा हर्कसँग संवाद सम्भव नभएपछि कुलमान सोमबार मोरङको बेलबारी र झापामा पनि अन्तरक्रिया गरेका छन् ।
झापामा उनले आफूनिकट केही अग्रज र बाढी पीडितलाई भेटेका छन् । आइतबार विराटनगर विमानस्थल हुँदै धरान गएका कुलमान सोमबार भद्रपुर एयरपोर्ट हुँदै काठमाडौं फर्किएका छन् ।