धरान/ “हिबिस्कस क्विज मेनिया सिजन–४” का लागि विद्यालयहरूले नाम दर्ता गर्ने क्रम तीव्र बनेको छ। धरान, इटहरी, इनरुवा, बराहक्षेत्र, मोरङसहित विभिन्न स्थानका विद्यालयहरूलाई पत्र पठाएपछि हालसम्म २५ विद्यालयले औपचारिक रूपमा दर्ता गराइसकेका छन्।
विद्यालयका निर्देशक गंगाराम राईका अनुसार दर्ताको अन्तिम म्याद मङ्सिर २५ तोकिएको छ। उनका अनुसार सो म्यादसम्म जति विद्यालयले चाहे पनि सहज रूपमा सहभागी हुन सक्ने व्यवस्था मिलाइएको छ। यस प्रतियोगिताले विद्यार्थीमा विश्लेषण क्षमता, आत्मविश्वास र लोकसेवा आयोगस्तरका प्रश्न–समाधान सीप विकास गर्ने उद्देश्य राखिएको छ।
प्रतियोगिताका लागि आवश्यक तयारीलाई विद्यालयले तीव्र रूपमा अघि बढाइरहेको छ। धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलको प्राङ्गणमा आगामी पुष ९ र १० गते प्रतियोगिता भव्य रूपमा सम्पन्न हुनेछ।
२०६३ सालमा स्थापना भएको हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गुणस्तरीय, अनुशासित र नैतिक मूल्यमा आधारित शिक्षाको परम्परा निरन्तरता दिँदै आएको छ। समावेशी शिक्षामार्फत निम्न आय भएका परिवारका बालबालिकालाई समेत समान अवसर दिँदै आएको विद्यालयले विद्यार्थीको बौद्धिक विकासमा उल्लेखनीय योगदान गर्दै आएको छ।
विद्यालयले विगत तीन वर्षदेखि अन्तर–विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्दै आएको छ। यस वर्षदेखि प्रतियोगितालाई खुला कोशी प्रदेशस्तरमा विस्तार गरिएको छ, जसअन्तर्गत प्रदेशका १४ जिल्लाबाट ठूलो सहभागिता रहने अपेक्षा गरिएको छ।
यस वर्षका पुरस्कारहरू आकर्षक छन्:
प्रथम: नगद २०,०००, रनिङ ट्रफि, मेडल र प्रमाणपत्र
दोस्रो: नगद १५,०००, मेडल र प्रमाणपत्र
तेस्रो: नगद ८,०००, प्रमाणपत्र
चौथो: नगद ६,०००, प्रमाणपत्र
पाँचौं: नगद ४,०००, प्रमाणपत्र
सान्त्वना: नगद २,०००, प्रमाणपत्र
पुष ९ गतेको प्रारम्भिक छनोटबाट उत्कृष्ट ६ टिम फाइनलका लागि छनोट भई पुष १० गते प्रतिस्पर्धा गर्नेछन्।
२०७९ सालमा सुरु भएको प्रतिस्पर्धामा पहिलो वर्ष हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल, दोस्रो वर्ष नेपाल पुलिस स्कुल र तेस्रो वर्ष पुनः हिबिस्कस स्कुले विजेता बनेको थियो।