सुनसरी/ विशेष सूचनाको आधारमा सञ्चालन गरिएको दुई सफल प्रहरी कारबाहीमा इनरुवाका फरक–फरक स्थानबाट दुई जना लागूऔषधसहित पक्राउ परेका छन्।
मिति २०८२।०८।०८ गते साँझ १९:१५ बजे इनरुवा–३ महेन्द्रचोकमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले भारत, बिहारका ३२ वर्षीय राजु कुमार सोनीलाई नियन्त्रणमा लियो।
चेकजाँचका क्रममा उनको साथबाट
जम्मा १४८ क्याप्सुल बरामद भएपछि उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान थालिएको छ।
सोही दिन १८:१५ बजे इनरुवा–४ बसचोकमा लागूऔषध ओसारपसार भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क, इनरुवाको संयुक्त टोलीले को ३१ प २९५२ नम्बरको मोटरसाइकल रोक्दै जाँच गर्यो।
सवारी चालक, रामधुनी–५ का २१ वर्षीय सन्तोष राईले लुकिङ ग्लासको कभरमा लुकाएर ल्याउँदै गरेको ब्राउन सुगर ०.६७ ग्राम फेला परेपछि उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। उभय घटनामा पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइरसकेको जिल्ला प्रहरीले जनाएको छ।