धरान/ नेपाली कथानक चलचित्र ‘लोकन्ती’ यही मङ्सिर २६ गतेदेखि देशभरका सिनेमा घरहरूमा एकसाथ प्रदर्शनमा आउने भएको छ ।
कुशन फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रको प्रदर्शन मिति सार्वजनिक गर्दै निर्माण पक्षले चलचित्रको फस्र्ट–लुक पोस्टर पनि सार्वजनिक गरेको छ ।
कथाको केन्द्रमा परिवार, प्रेम, सङ्घर्ष र समाजका सूक्ष्म संवेदनाहरू छन् । निर्देशक रञ्जित रानाले चलचित्रलाई पूर्ण पारिवारिक ड्रामाको रूपमा प्रस्तुत गरेका छन् ।
चलचित्रमा अभिनेता एसराज गराच मुख्य भूमिकामा देखिएका छन् । काभ्रे जिल्लाका भू–परिदृश्य र प्राकृतिक वातावरणमा छायाङ्कन गरिएको ‘लोकन्ती’ ले पारिवारिक प्रेमकथामा लुकेका सामाजिक पक्षहरूलाई पनि उजागर गर्ने अपेक्षा राखिएको छ ।
चलचित्रका निर्माता सन्तोष न्यौपाने हुन् । चलचित्रमा अभिनेत्री तथा मोडल ऋचा थापा, विमला लिम्बू, कुमार न्यौपाने, विकास अधिकारी, दमन रुपाखेती, गोविन्द प्रभातलगायत कलाकारहरूको महत्त्वपूर्ण भूमिका रहेको छ ।
कुमार न्यौपाने र वराहक्षेत्रका विकास अधिकारीले यसै चलचित्रबाट अभिनय–यात्रा सुरु गरेका छन् । उनीहरू दुवै चलचित्रबाट उत्साहित देखिन्छन् । वराहक्षेत्रका प्रतिभाशाली कलाकार विकासलाई चलचित्रमा हेर्न स्थानीय उत्साहित भएका छन् ।
चलचित्रमा सङ्गीत निर्देशन विकास चौधरी र छायाङ्कन रोनिश तामाङ च्याङ्बाको छ । नेपाली संस्कृतिमा आधारित भावनात्मक तथा सामाजिक कथावस्तु बोकेको ‘लोकन्ती’ ले दर्शकलाई नवीन स्वाद दिने निर्माण पक्षको विश्वास छ ।