इटहरी/ राजस्व अनुसन्धान कार्यालय इटहरीको नियन्त्रणमा रहेको पूर्वाञ्चल करियर्सको प्रदेश १–०१–००१ ख ४७५९ नम्बरको मालवाहक ट्रक ३४ लाख ६२ हजार रुपैयाँ धरौटीमा मुक्त भएको छ।
झापाबाट काठमाडौँतर्फ चोरी–पैठारी गरिएका मालवस्तु लिएर हिँडेको ट्रकलाई विशेष सूचनाका आधारमा असोज ७ गते इटहरीस्थित कार्यालयले नियन्त्रणमा लिएको थियो।
ट्रकमा बिना बिल–बीजक भारतमा उत्पादित विविध वस्तु फेला परेका थिए, जसमा–
• डेरी मिल्क १८ ग्राम – ३८४० पिस
• डेरी मिल्क ४० ग्राम – १४४० पिस
• मिल्क डेरी मिल्क १०५ ग्राम – ८८० पिस
• मिक्सचर ग्राइन्डर (३ जार) – १२० थान
• नभुटेको काजु – ४०० केजी
• नेस्ले एभ्रिडे पाउडर मिल्क – ३१५ केजी
• गुडरिक चिया – १२५४ केजी
• साधारण भेष्ट – ४०० थान
• उत्पादनको स्रोत नखुलेको सेतो केराउ – १३८० केजी
• नभुटेको कफी दाना – १३२० केजी
यसबाहेक सेतो भटमास १५०० केजी को बिल कागजातमा भए पनि सामान भने गाडीमा फेला परेको थिएन।
मालवस्तुको वास्तविक धनी प्रस्तुत हुन नसकेपछि पूर्वाञ्चल करियर्सले नै कानुनबमोजिम जिम्मेवारी लिएर मालवाहक ट्रक धरौटीमा छुटाएको कार्यालयले जनाएको छ।
स्रोत नखुलेका सामान जफत गरिँदा, स्रोत खुलेका सामान र सवारी साधन मात्र करियर्सलाई फिर्ता गरिएको हो।
भारतसँग सीमा जोडिएका स्थानहरूबाट चोरी–पैठारीको क्रम बढ्दै गएपछि निगरानी कडा पारेको कार्यालयले बताएको छ।