धरान/ विश्वको शीर्ष वैज्ञानिक सूचिमा पर्नुमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धराने जनता र आफ्नो अध्ययन टिमको ठुलो योगदान रहेको प्रा.डा. सञ्जीव शर्माले बताउनु भएको छ ।
मंगलबार धरानमा पत्रकारहरुसंग कुराकानी गर्नुहुँदै प्रा.डा. शर्माले भन्नुभयो मैले करिव २० वर्षदेखि सर्पदंश उपचार पद्धतिमा सुधार, मुटु रोग तथा मिर्गौला रोगका विषयमा काम गरेँ ।
मलाई प्रतिष्ठानले त्यो स्पोजर दियो, मेरो टिमले सहयोग गर्नुभयो र जहिल्यै धरान र पूर्वका जनताको माया पाएँ त्यसैको प्रतिफल नै यो उपलब्धि प्राप्त भएको हो ।
प्रा.डा. शर्माले भन्नुभयो काम हामी सबै मिलेर टिमले गरेका हौ । तर, नाम मात्रै मेरो आएको हो ।
हालै अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीले एन्सेभियरसँगको सहकार्यमा तयार गरेको वार्षिक ‘ग्लोबल वैज्ञानिक प्रभाव र्याकिङ’ सूचीमा नेपालका ३१ जनामध्ये प्रा.डा शर्मा पनि छनोट हुनु भएको हो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष तथा मुटु तथा मिर्गौला रोग विशेषज्ञ प्रा.डा सञ्जीव शर्मा सर्पदंश, मुटु रोग र मिर्गौला रोगलगायत विषयमा गर्नुभएको महत्वपूर्ण अध्ययन र अनुसन्धानका लागि ग्लोबल वैज्ञानिक प्रभाव र्याकिङमा नेपालको तर्फबाट विश्वका शीर्ष स्वास्थ्य वैज्ञानिकको सूचीमा पर्नु भएको हो ।
वहाँ विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) मा सर्पदंशसम्बन्धी कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै आउनुभएको छ ।
पत्रकारहरुसंग कुराकानी गर्नुहुँदै वहाँले विश्वका वैज्ञानिकहरु नेपालमा आउन चाहिरहेको र यहाँका दूरदराजका जनताबीच काम गर्न चाहिरहेको बताउनुभयो ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष तथा युवा नेता भीमज्वाला राईको संयोजन र सहजीकरणमा भएको अन्तरक्रिया कार्यक्रममा बरिष्ठ पत्रकार हर्ष सुब्बा सहितका सञ्चारकर्मीहरुसंग अन्तरक्रिया भएको थियो ।