त्रिनेत्र मोक्षधाममा पहिलो बाला चतुर्दशी महोत्सव: भक्तजनका लागि विशेष व्यवस्था
- मंसिर १, २०८२
- कोशीपत्र/संवाददाता
इटहरी/ धार्मिक पर्यटकीय स्थलका रूपमा परिचित सुनसरीको इटहरी–२ आयुर्वेदिक टोलस्थित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशको संकल्पमा स्थापित १०८ शिवलिङ्ग परिसरमा आगामी मंसिर ३ गते बाला चतुर्दशी अन्तर्गत शतबिज छर्ने तयारी तीव्र पारिएको छ।
दिवंगत पितृहरूको मोक्षका लागि शतबिज छर्न टाढाको तीर्थ धाउने श्रद्धालुहरूले अब नजिकै रहेको इटहरी–२ माया घर छेउमा स्थापित १०८ शिवलिङ्ग परिसरअन्तर्गत त्रिनेत्र मोक्षधाममा पुगेर आफ्ना मनोकामना पूरा गर्न सक्नेछन्।
सो कार्यक्रमका लागि सबै तयारी सकिएको बताइएको छ। कार्यक्रमअन्तर्गत मंसिर २ गते साँझ दीप प्रज्वलन, भजन सन्ध्या तथा रातभर जाग्राम बस्दै भगवान शिवको कीर्तन, कथा वाचन गरिनेछ। साथै ३ गते बिहान ३ बजेदेखि नै दिवंगत पितृहरूको सम्झनामा शतबिज छरिने त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशकी अध्यक्ष सुभद्रा प्याकुरेलले जानकारी दिनुभयो।
यस क्षेत्रमा स्थापित १०८ शिवलिङ्ग परिसरअन्तर्गत त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी मनाइने भएको हो। १०८ शिवलिङ्ग स्थापना भएयता दैनिक भक्तजनहरूको घुइँचो लाग्ने गरेको पनि अध्यक्ष प्याकुरेलको भनाइ छ।
रातभर महादीपदान गरेर बसेका भक्तजनहरूले चतुर्दशीका दिन बिहान स्नान गरी स्थापित १०८ शिवलिङ्ग स्थलमा शतबिज छर्नेछन्। यसाे गर्नाले दिवंगत पितृले शान्ति पाउने धार्मिक विश्वास रहेको अध्यक्ष प्याकुरेलको भनाइ छ। चतुर्दशीको अघिल्लो दिन नै जाग्राम बस्ने श्रद्धालुहरूका लागि बस्नकालागि सुरक्षित आवास, आवश्यक भोजन तथा स्नान कक्षसमेतको सुविधा मिलाइएकाे अध्यक्ष प्याकुरेलले बताउनुभयो।
पहिलो पटक चतुर्दशी मनाउने तयारीमा जुटेको समितिले श्रद्धालुहरूको भीडलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था समेत मिलाइसकेको जनाइएको छ। यस क्षेत्रलाई आगामी दिनमा धार्मिक पर्यटकीय नगरि तथा तीर्थस्थलको रूपमा विकास गर्न कोशी प्रदेश मुख्यमन्त्रीको कार्यालय, प्रदेशकै पर्यटन, वन तथा वातावरण मन्त्रालय एवं स्थानीय निकायहरूसँग सहकार्य गरी योजना अनुरूप काम भइरहेको त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र की अध्यक्ष सुभद्रा प्याकुरेलले बताउनुभयो।