महँगी चुलिँदा ज्याला स्थिर : श्रमिकको गुहार— ‘हाम्रो आवाज सुनियोस्’

  • कार्तिक २९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ महँगी दिनहुँ बढ्दै गए पनि आफूहरूको ज्याला भने वर्षौँदेखि उही रहेको गुनासो धरानका विभिन्न क्षेत्रका श्रमिकहरूले गरेका छन्।

जिफन्ट (जेनरेशन फ्रेन्ड्स अफ नेपाल ट्रेड युनियन) ले शनिबार धरानमा आयोजना गरेको श्रमिक–संवाद कार्यक्रममा सहभागी मजदुरहरूले आफ्नो वास्तविक दुःख–पीडा खुलाएर राखे।

संवादमा निर्माण मजदुर, यातायात मजदुर, अटो–मेकानिक्स, उद्योगका मजदुर, सुरक्षा श्रमिक, सरसफाइ कर्मचारी, लोड–अनलोड मजदुर, स्वास्थ्य स्वयंसेवी तथा सौन्दर्यकर्मीलगायत विभिन्न क्षेत्रका ४५ जना श्रमिक अगुवाहरूको सहभागिता थियो।

वर्षौंदेखि चार सय रुपैयाँ भत्तामा काम गरिरहेको बताउँदै स्वास्थ्य स्वयंसेवी मनकुमारी लिम्बू ले स्थानीयदेखि प्रदेश र संघ सबै तहका सरकार मौन रहेको गुनासो सुनाइन्।

“हामीले घामपानी, दिनरात खटेर काम गर्छौँ। तर हाम्रो आवाज कसैले सुन्नै चाहँदैन। जिफन्टले अब हाम्रो पक्षमा कडाभन्दा कडा रूपमा बोलिदिनुपर्छ,” लिम्बूको आग्रह थियो।

लोड–अनलोड गरिने काममा वर्षौँदेखि एउटै दरमा काम गर्न बाध्य रहेको अमर राई ले उद्योगी–व्यवसायीको दबाबमा आफूहरू पिल्सिएको बताए।

“उपभोग्य वस्तुको मूल्य त दैनिक बढ्छ, तर हाम्रो ज्याला बढ्दैन। यो अन्याय हो। जिफन्टले तत्काल श्रमदर तोकिदिनुपर्छ,” राईको माग थियो।

निर्माण मजदुर मुक्तिनाथ गिरी ले नगरपालिकाले श्रमिकको सूची नै तयार पार्न नसक्दा सामाजिक सुरक्षामा समावेश गर्ने प्रक्रिया अलपत्र परेको बताए।

“धरानमा कति निर्माण मजदुर छन् भन्ने नै किटान छैन। स्थानीय सरकारले ज्याला निर्धारण गर्न सकेको छैन। अब सबै मजदुर मिलेर नगर सरकारसँग छलफल गरेर अघि बढ्नु पर्छ,” गिरीले प्रष्ट पारे।

अटो मेकानिक्स श्रमिक हरी भट्टराई ले विद्युतीय सवारीसाधनको आयात तीव्र रूपमा बढेसँगै परम्परागत मेकानिक्स बेरोजगार बन्दै गएको बताए।

उनका अनुसार भारतीय नागरिकहरू दैनिक रुपमा धरान आएर काम गर्ने र साँझ फर्कने क्रम बढेकोले स्थानीय मेकानिक्स थप प्रभावित भएका छन्।

जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिवेशमा आयोजना गरिएको यस श्रमिक–संवादमा जिफन्टका उपाध्यक्ष विदुर कार्की, सचिव बेलीमाया घले, सदस्य भीमज्वाला राई लगायतले उठेका सवालहरूमा योजना सहित जवाफ दिए।

कार्यक्रम जिफन्ट नगर अध्यक्ष समशेर बर्देवा को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको संचालन सचिव डम्बर अधिकारी ले गर्नुभएको थियो।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved