धरान/ विशेष सूचनाका आधारमा खटिएको प्रहरीले धरानका विभिन्न क्षेत्रमा एकै दिन तीन छुट्टाछुट्टै अप्रेसन चलाउँदै ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ।
दुई जना नियन्त्रणमा परेका छन् भने दुई जना मोटरसाइकल छाडेर फरार छन्।
१.बौद्धविहार–कोशी राजमार्गबाट ४९ किलो गाँजा बरामद, दुई चालक फरार
शुक्रबार राति २२:२० बजे धरान–४ बौद्धविहार नजिकै कोशी राजमार्गमा PIT, प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय धरान र भेडेटारको संयुक्त टोलीले भेडेटारबाट धरानतर्फ आउँदै गरेका को ३० प ४५४४ र बा ५१ प ५४१३ नम्बरका दुई मोटरसाइकल रोक्ने प्रयास गरेको थियो।
तर दुवै चालकले मोटरसाइकल नरोकी भाग्न खोजेपछि पछ्याउने क्रममा उनीहरूले सवारी छाडेर फरार भएको प्रहरीले बताएको छ।
मोटरसाइकल चेकजाँच गर्दा दुवैमा प्याक गरिएको अवस्थामा ४९ किलो गाँजा फेला परेको छ।
बरामद मोटरसाइकल र लागूऔषध इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ। फरार चालकको खोजी जारी छ।
२.कुलुङ चोकबाट ३.३३ ग्राम ब्राउनसुगरसहित एक जना पक्राउ
त्यसअघि २१:१० बजे धरान–५ कुलुङ चोकमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनामा खटिएको प्रहरी टोलीले धरान–१५ बस्ने २८ वर्षीय सनम तामाङलाई पक्राउ गरेको हो।
खानतलासी गर्दा उनको साथबाट ३.३३ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। उनलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ।
३.ठकुरी पुलबाट ट्रामाडोल र स्पास्मो ट्याब्लेटसहित युवक पक्राउ
साँझ २०:३० बजे धरान–१७ ठकुरी पुल नजिकै इलाका प्रहरी कार्यालय धरान र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले प्र.१–०२–०४० प ७१५८ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा चालक बराहक्षेत्र–४ का २७ वर्षीय सुनिल गिरी पक्राउ परेका छन्।
उनको साथबाट ट्रामाडोल ८२ क्याप्सुल र स्पास्पेन १९९० ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ। मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ।
प्रहरीका अनुसार धरान क्षेत्रमा लागूऔषधको ओसार–पसार र सेवन नियन्त्रण गर्न निरन्तर अपरेसन चलाइएको र फरार व्यक्तिहरूको खोजी तीव्र बनाइएको छ।