-साङ्केतिक तस्बिर
झापा/ झापाको बिर्तामोड नगरपालिका–२ रामचोकबाट प्रहरीले गोलीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
मिति २०८२ साल कार्तिक २६ गते दिउँसो करिब १२:०० बजेतिर लाऔँ ब्युरो इकाई काकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको हातहतियारका गोलीहरू पक्राउ परेकामध्ये एकको कोठाबाट फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बाह्रदशी गाउँपालिका–४ चकचकी घर भएकी वर्ष २७ की इस्रप खातुन बिर्तामोड–२ रामचोकस्थित लाल ब. गिरीको घरमा डेरा गरी बस्दै आएकी थिइन् । उनको कोठाबाट SLR का ३८ राउण्ड, INSAS का १६ राउण्ड, काँसको थाल, करुवा, पित्तलको गिलास र प्रहरीको बुट १ जोर बरामद गरिएको छ ।
यस घटनामा संलग्न रहेका बिर्तामोड–२ का २२ वर्षीय बिकास टुडुलाई समेत पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
पक्राउ परेका दुबैजनालाई बरामद सामग्रीसहित इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।