विराटनगर/ मोरङ, सुनसरी र ताप्लेजुङका विभिन्न स्थानमा प्रहरीको संयुक्त अभियानबाट लागूऔषध कारोबारमा संलग्न नौ जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये दुई महिला पनि रहेका छन् ।
कार्तिक २५ गते मोरङको इलाका प्रहरी कार्यालय मधुमल्ला र उर्लाबारीबाट खटिएको टोलीले उर्लाबारी नगरपालिका–१ की दुर्गा देवी भण्डारीलाई उनकै घरबाट १९ ग्राम २०० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु सहित पक्राउ गरेको हो । सोही क्रममा संकास्पद अवस्थामा रहेका गिरिजा तामाङ र चन्द्र बहादुर दनुवारलाई पनि १ ग्राम ५२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले पथरी शनिश्चरे नगरपालिका–१० की विनिता लिम्बुलाई १ ग्राम १४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ भने, इलाका प्रहरी कार्यालय रानीले विराटनगर–११ का प्रशान्त राईलाई २७ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।
सुनसरीतर्फ, अस्थायी प्रहरी चौकी बरगाछीले धरान–१९ का समिर विश्वकर्मा र अर्जुन विश्वकर्मालाई २ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर, ट्रामाडोल ५२ क्याप्सुल र डिकोलिक ५२ ट्याब्लेटसहित पक्राउ गरेको जनाएको छ ।
यसैबीच, इलाका प्रहरी कार्यालय धरानले धनकुटा सहिदभूमि गाउँपालिका निवासी सिद्वार्थ राईलाई मोटरसाइकल (प्र.१–०२–०५३ प ९९८२) सहित ११ किलोग्राम गाँजासहित नियन्त्रणमा लिएको जनाएको छ ।
यस्तै, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले फुङलिङ नगरपालिका–६ का रोशन पोखरेललाई प्रतिबन्धित औषधि ६८ चक्की सहित पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका सबैमाथि लागूऔषध ओसार–पसार र बिक्री वितरणमा संलग्न रहेको आरोपमा थप अनुसन्धान भइरहेको छ ।