झापा/ भद्रपुरस्थित प्रादेशिक अस्पतालमा पछिल्ला दिनहरूमा भएका श्रृंखलाबद्ध चोरी घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
अस्पतालका विभिन्न वार्ड र स्टोर रुमबाट तामाको पाइपदेखि औषधीसम्म चोरी हुने क्रम बढेपछि प्रहरीले गम्भीर रूपमा निगरानी बढाउँदै सीसीटीभी फुटेजका आधारमा अभियुक्तहरूलाई पक्राउ गरेको हो।
पहिलो घटनामा रन्जित घोष (३७), भद्रपुर–६ लाई अस्पतालको पुरानो भवनको सर्जिकल वार्ड बाहिर जडान गरिएको अक्सिजन सप्लाई तामाको पाइप चोरी गरेको आरोपमा मिति २०८२।०७।२४ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ। उक्त घटना मिति २०८२।०७।०३ गते दिउँसो करिब १४:०० बजे घटेको थियो।
दोस्रो घटनामा सुरज जमदार (३०), भद्रपुर–१० लाई गाइनो वार्डको पहिलो तलाबाट अक्सिजन पाइप चोरी गर्दै गरेको दृश्य अस्पतालको सीसीटीभीमा देखिएपछि मिति २०८२।०७।२३ गते पक्राउ गरिएको हो। जमदा साेहि अस्पतालका कर्मचारी हुन।यो घटना मिति २०८२।०७।१८ गते दिउँसो करिब ०१:३० बजे घटेको थियो।
तेस्रो घटनामा विश्वनाथ राजवंशी (२८), मेचीनगर–७ ले अस्पतालको औषधी स्टोर रुमभित्रबाट METHADOOL (मेथाडोल) नामक झोल औषधी चोरी गरेको प्रमाण भेटिएपछि उनलाई पनि मिति २०८२।०७।२३ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ। औषधी चोरीको घटना मिति २०८२।०७।२२ गते राति करिब ११:०० बजे घटेको हो।
पक्राउ परेका तीनै जनाविरुद्ध मुलुकी अपराध संहिता २०७४ अनुसार चोरी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।