धरान/अपाङ्गता भएका आदिवासी जनजातिहरूका अधिकार संरक्षण तथा वकालत क्षमतावृद्धिका उद्देश्यले नेपाल आदिवासी जनजाति अपाङ्ग सङ्घ (निडा) ले कोशी प्रदेशमा दुईदिने सशक्तिकरण कार्यक्रम सम्पन्न गरेको छ।
शुक्रबार आयोजित छलफलमार्फत निडाको कोशी प्रदेश समिति गठनबारे बहस गरिएको थियो। त्यसपछिको दिन एबिलिस फाउन्डेसनको सहयोगमा वकालतसम्बन्धी एकदिने विशेष तालिम सञ्चालन गरिएको हो।
कार्यक्रममा संविधान सभा सदस्य तथा निडा प्रदेश उपाध्यक्ष इन्द्र कुमारी गुरुङले अपाङ्गता भएका आदिवासी जनजातिहरूको श्वेत पत्र, निडाका लक्ष्य तथा गतिविधिबारे विस्तृत जानकारी दिइन्।
त्यसैगरी निडाका सल्लाहकार तथा अधिवक्ता दिलप्रसाद थापा मगरले स्व–सहायता समूहहरूको वकालत भूमिका, अधिकार संरक्षणका रणनीति र संगठित भएर अघि बढ्नुपर्ने आवश्यकता प्रस्तुत गरे।
कार्यक्रमका प्रमुख अतिथि धरान उप–महानगरपालिकाका उप–प्रमुख अइन्द्र विक्रम बेघाले संविधानले सुनिश्चित गरेका अधिकार प्रभावकारी कार्यान्वयनका लागि अपाङ्गता भएका आदिवासी जनजातिहरू निरन्तररुपमा आवाज उठाउन आग्रह गरे।
