झापा/ झापाको बिर्तामोड नगरपालिका–६ सुगम शान्ति टोलस्थित तोरीवारी नजिकको सिमल तरुलको झाडीमा वेवारिसे अवस्थामा एक थान इन्सास हतियार फेला परेको छ।
मिति २०८२ साल कातिक १९ गते साँझ करिब ४:४५ बजे प्रहरीले फेला पारेको उक्त हतियार इन्सास नम्बर ०३११००८७२ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। हतियारसँगै एक थान म्याग्जिन, १९ राउण्ड सावुत गोली र २ राउण्ड बेसावुत गोली पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त हतियार गत असोज २४ गते जेन–जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनिबाट लुटिएको पुष्टि भएको छ। बरामद हतियारलाई प्रहरीले पुनः इप्रका अनारमनीमा राखी थप अनुसन्धान अघि बढाएको जनाएको छ।
साथै सोही आन्दोलनका क्रममा इप्रका दमक र बिर्तामोडबाट लुटिएका अन्य २२ नाल हतियार अझै फेला नपरेको र ती हतियारहरूको खोजी कार्य तीव्र गतिमा भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार लुटिएका बाँकी हतियार फेला पार्न सुराकी संकलन, स्थलगत अनुसन्धान र गस्ती टोलीलाई अझ सशक्त बनाइएको छ। प्रहरीले स्थानीय बासिन्दालाई पनि शंकास्पद वस्तु वा हतियार देखिए तत्काल जानकारी दिन आग्रह गरेको छ।