विराटनगर/ जिल्ला अदालतमा जागिर लगाइदिन्छु भन्दै सर्वसाधारणबाट रकम असुल्ने समूहका दुई सदस्य पक्राउ परेका छन्। मोरङ प्रहरीले ठगीमा संलग्न सिराहा लहान–२ निवासी ५० वर्षीया पुनमदेवी साह र उनकी २७ वर्षीया छोरी कोमल साहलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरूलाई विराटनगर–५ स्थित सम्झना चोकको भाडाको कोठाबाट पक्राउ गरिएको हो। ठगीमा संलग्न कोमल साहका श्रीमान् भने घटनास्थलबाट भाग्न सफल भएका छन्।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी कोपिला चुडालका अनुसार आमा–छोरीले विभिन्न जिल्लाका बेरोजगार युवालाई अदालतमा कार्यालय सहयोगी, खरिदार र सुब्बा पदमा जागिर लगाइदिने प्रलोभन देखाएर रकम असुल्दै आएका थिए।
‘सानो–सानो रकम असुल्दा पीडितहरू अदालतसम्म नआउने सोच राखेर गिरोह सक्रिय भएको देखिन्छ,’ डिएसपी चुडालले भनिन्, ‘तर धेरै मानिसबाट सङ्कलित रकम ठुलो हुनसक्छ।’
प्रहरीका अनुसार हालसम्म २७ जनाले उजुरी र ४ जनाले जाहेरी दिएका छन् भने ठगिएका व्यक्तिहरूको सङ्ख्या ५ सयभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ।
यो घटना विराटनगरमा सञ्चालित ‘झुम्का दरबार’ नामक गहना पसलमार्फत उजागर भएको हो। गत दसैँको घटस्थापनाका दिन एक युवतीले भगवानको मूर्तिका लागि सुनजस्तो धातु किन्ने क्रममा आफू अदालतकी अधिकृत पुनम साह भएको भन्दै रकम उधारो गरेकी थिइन्।
पसलले लामो समयसम्म रकम नपाएपछि अदालतमा बुझ्दा पुनम साह नामकी कुनै कर्मचारी नभएको खुलेको थियो।
त्यसपछि अनुसन्धान अघि बढ्दा नक्कली नियुक्तिपत्र, परिचयपत्र र सरकारी छाप प्रयोग गरी ठगी गर्ने ठूलो जालो फेला परेको हो।
कोमलले फारम भर्ने शुल्कका नाममा रकम असुल्ने गरेकी थिइन् —
रकम लिएपछि उनीहरूले ह्वाट्सएपमार्फत नक्कली परिचयपत्र पठाउने र त्यसपछि ‘नियुक्ति पत्र भएको बन्द खाम’ पठाउने गर्थे।
त्यो खाम अदालतबाट फोन नआउन्जेल नखोल्नुस्, नत्र कारबाही हुन्छ भन्दै डर देखाइन्थ्यो। त्यसैले धेरै पीडितहरू महिनौँसम्म खामसहित घरमै बसिरहेका थिए।
प्रहरीले पक्राउ परेका आमा–छोरीको कोठाबाट नक्कली नियुक्तिपत्र, परिचयपत्र र सरकारी छापहरू बरामद गरेको जनाएको छ।
उनीहरूविरुद्ध सरकारी छाप दुरुपयोग, अनलाइन ठगी र सङ्गठित अपराध सम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
जिल्ला अदालतले दुवै जनालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको मोरङ प्रहरीले जनाएको छ।