धरान/ शैक्षिक गुणस्तरसहित विभिन्न माग राख्दै धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका स्ववियू सभापति पेशलराज कार्की र कोषाध्यक्ष नाम्छाहाङ राईलगायत विद्यार्थीहरु धर्नामा बसेका छन्।
माग सम्बोधन नभएसम्म दैनिक बिहान १० बजेदेखि एक घण्टा धर्ना बस्ने घोषणा उनीहरुले गरेका छन्। शनिबार बसेको क्याम्पस सञ्चालक समितिको ३०औं पूर्ण बैठकमा विद्यार्थी सरोकारका विषय समेटिन नसकेको भन्दै सभापति कार्कीले बैठक नै बहिष्कार गरेका थिए।
सभापति कार्कीका अनुसार क्याम्पस स्वायत्त भएपनि त्रिभुवन विश्वविद्यालयको निर्देशिका र स्वायत्तताको निर्देशिका कुनलाई प्राथमिकता दिने भन्ने विषयमा अन्योल रहेको छ।
त्यसमा स्पष्टता ल्याउनुपर्ने माग विद्यार्थीहरुको छ। साथै, क्याम्पस प्रशासनका बैठकहरु सामाजिक सञ्जालमार्फत लाइभ गर्नुपर्ने र पदाधिकारीहरु कार्यालय समयअवधिभरि बस्नुपर्ने पनि विद्यार्थीहरुको माग हो।
त्यसैगरी, विद्यार्थी उर्तिण दर घट्दो अवस्थामा क्याम्पस प्रशासनले अझै पनि विद्यार्थी कोटा बढाउन खोज्नुको कारण पनि स्पष्ट पार्न माग गरिएको छ।
स्वायत्ततापछि विभिन्न निकायबाट प्राप्त अनुदान तथा आय–व्यय विवरण सार्वजनिक गर्नुपर्ने, वार्षिक रूपमा तिर्ने टेक्स क्लियरेन्सको विवरण सार्वजनिक गर्नुपर्ने र स्वास्थ्य बीमाका लागि उठाइएको ५ सय रुपैयाँ धरौटी रकम तत्काल फिर्ता गर्नुपर्ने पनि विद्यार्थीहरुको जोडदार माग रहेको छ।
अघिल्लो स्ववियू नेतृत्वको समयमा समेत पटक–पटक पत्र बुझाएर माग राख्दा पनि कार्यान्वयन नभएकाले आन्दोलनमा उत्रिनुपरेको सभापति कार्कीले बताए। उनले क्याम्पसको शैक्षिक गुणस्तर दिनानुदिन खस्किँदै गएको र हालको परीक्षाफल इतिहासकै कमजोर रहेको भन्दै सुधारका लागि सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिए।
‘क्याम्पस प्रमुख वसन्तकुमार राईले विद्यार्थीहरुले उठाएका माग क्याम्पसकै हितमा भएको स्वीकार गर्दै संवादमार्फत समाधान गर्ने प्रतिबद्धता जनाए। उनले सभापति कार्कीसँग कतिपय विषयमा नियमित छलफल हुने गरेको बताए ।
‘विद्यार्थीहरुले उठाएको विषय गम्भीर छ,’ प्रमुख राईले भने, ‘रिजल्ट किन बिग्रियो भन्ने विषयमा विभागीय प्रमुख र शिक्षकहरुसँग समिक्षा गर्दैछौं। विद्यार्थीहरुको माग जायज छन्, हामी संवाद गरेर समाधानतर्फ अघि बढ्छौं।’