झापा/झापाको दमक नगरपालिका–२ पाङ्गिनी चोकस्थित भित्री सडकखण्डमा मङ्गलबार राति भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।
मंगलबार राति करिब ११:५५ बजे दमकबाट मोरङको टाडी तर्फ जाँदै गरेको बा २ ख १९८३ नम्बरको यात्रुबस अनियन्त्रित भई सडक किनारको नालीमा पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बसमा करिब ३५ जना सवार थिए।
दुर्घटनामा मोरङ मिक्लाजुङ गाउँपालिका–३ का ३६ वर्षीय भीमबहादुर मगरको मृत्यु भएको छ। उनलाई उपचारका क्रममा खरखरेस्थित आम्दा अस्पतालमा डाक्टरले राति १२:२८ बजे मृत घोषित गरेका थिए।
सोही बसमा सवार २१ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरूमा सिता मगर, योगेश मगर, विपिन श्रेष्ठ, सपना श्रेष्ठ, नन्दमाया मगर, आशिन लिम्बु, रामकुमारी मगर, रोनिशा दर्जी, टंक बहादुर गुरुङ, साजन श्रेष्ठ, विष्णु कुमारी लिम्बु, निकेश भुजेल, शिसिर राई, प्रेम रसाइली, रुपा रसाइली, सन्दिप रसाइली, राजन श्रेष्ठ, एन्जिला जोगी, पुनम मगर र अनुसा मगर रहेका छन्।
दुर्घटनापछि सबै घाइतेहरूलाई तत्कालै आम्दा अस्पताल खरखरेमा पुर्याई उपचार गरिएको थियो। अस्पतालका अनुसार घाइतेमध्ये २० जना बुधबार बिहान ६:३० बजे डिस्चार्ज भएका छन्, भने एक जना — १७ वर्षीया सपना श्रेष्ठ — अझै उपचाररत छिन्।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षकको कमाण्डमा पुगेको टोलीले बस चालक मिक्लाजुङ–३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिएको छ। बस अहिले पनि घटनास्थलमै रहेको र सडक आवागमन सामान्य रहेको प्रहरीले जनाएको छ।