धरान/ आध्यात्मिक ऊर्जा र धार्मिक आस्थाले ओतप्रोत बनेको वृहत्तर बराहक्षेत्र पैदलयात्रा यस वर्ष पनि भक्तजनहरूको उत्साहपूर्ण सहभागितासहित जारी छ। जगतगुरु बालसन्त श्री मोहनशरण देवाचार्यको अगुवाइमा विगत तीन वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको यो धार्मिक यात्रा यसपटक पनि भव्य रूपमा सम्पन्न हुँदैछ।
कार्तिक १ गते बराहक्षेत्रबाट सुरु भएको यात्राले आइतबार धरान–१४ स्थित पवित्र पिण्डेश्वर मन्दिरमा विश्राम लिएको छ। महाभारत, वाल्मीकि रामायण, बराह महापुराण र स्कन्दपुराणको हिमवत् खण्डमा वर्णित वृहत्तर बराहक्षेत्रलाई जीवन्त राख्ने उद्देश्यले यो अभियान सुरु गरिएको देवाचार्यले बताउनुभयो।
भारतका वृन्दावन, चित्रकूट, नर्मदा, अयोध्या र काशी विश्वनाथ परिक्रमाजस्तै नेपालका धार्मिक तीर्थस्थलहरूमा श्रद्धालुहरूलाई जोड्ने अभियानका रूपमा यो यात्रा अगाडि बढाइएको उहाँको भनाइ छ।
धार्मिक आस्थाले ओतप्रोत भक्तजनहरूको सहभागिता उल्लेखनीय रहेको यस यात्रामा वृहत्तर बराहक्षेत्र अन्तर्गतका प्रमुख तीर्थस्थलहरू — बराहक्षेत्र (चतरा), मैनामैनी, त्रिवेणी, मुलघाट, शिवजट्टा, पिण्डेश्वर मन्दिर, दन्तकाली, विष्णुपादुका, बृद्धगंगा, रामधुनी, चकरघट्टी, कौशिकी नदी र देवघाट—मा भक्तिभावले भरिएका कार्यक्रमहरू सम्पन्न भएका छन्।
बालसन्त देवाचार्यका अनुसार यो दश दिने पैदलयात्रा शारीरिक रूपमा कठिन भए पनि आत्मसन्तुष्टिदायक रहेको छ। “बराहक्षेत्रदेखि मैनामैनी, त्रिवेणीधाम, मुलघाट, कार्कीछाप, शिवजट्टा हुँदै पिण्डेश्वर आइपुग्दा अद्भुत आध्यात्मिक अनुभूति भयो,” उहाँले भन्नुभयो।
यात्रा तराहरा, इटहरी, झुक्का, रामधुनी र चकरघट्टी हुँदै चतरामा पुगेर टुंगिनेछ। देवाचार्यले आगामी वर्षहरूमा पनि यो धार्मिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै यात्राको सफलतामा साथ, सहयोग र सहभागिता जनाउने सबैप्रति आभार व्यक्त गर्नुभएको छ।