धरान/ खेलमा महिलाको सहभागिता बढाउँदै धरानमा दोस्रो वडास्तरीय महिला नकआउट रनिङ कप फुटबल प्रतियोगिता मङ्सिर १८ गतेदेखि सुरु हुने भएको छ।
आयोजक जनपथ जागरण समाज धरानले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको औपचारिक घोषणा गरेको हो। गत वर्षको सफलतापछि यसपटक प्रतियोगिता अझ भव्य रूपमा आयोजना गरिने जनाइएको छ।
समाजका अध्यक्ष सुजन केसीका अनुसार गत संस्करणमा १५ वटा वडाको टिम सहभागी थिए भने यसपटक टिमको संख्या अझ बढ्ने अपेक्षा गरिएको छ।
उनका अनुसार प्रतियोगिताको विजेता टोलीले ९० हजार रुपैयाँसहित रनिङ ट्रफी प्राप्त गर्नेछ, जुन गत वर्षभन्दा १० हजार रुपैयाँले बढी हो। त्यस्तै उपविजेताले ४५ हजार रुपैयाँसहित ट्रफी पाउनेछ। यो पुरस्कार पनि गत वर्षको तुलनामा ५ हजार रुपैयाँले बढाइएको हो।
प्रथम पुरस्कार धरान–१६ को सियोन स्कुलले निरन्तर रूपमा सौजन्य गर्दै आएको छ। प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता लगायतका व्यक्तिगत पुरस्कारहरू पनि प्रदान गरिने जनाइएको छ।
धरान–१६ का वडाध्यक्ष मुरारी भट्टराईका अनुसार प्रतियोगिता १६ नम्बर वडामा रहेको क्षेत्रीय रंगशालामा हुने छ। प्रतियोगिता सञ्चालनका लागि वडा कार्यालयले २ लाख ५० हजार रुपैयाँ सहयोग गर्नेछ भने धरान उपमहानगरपालिकाले पनि समान रकम उपलब्ध गराउनेछ। साथै विभिन्न दाताहरूको सहयोगमा प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ।
गत वर्षको आर्थिक विवरण पनि सार्वजनिक गरिएको छ। संस्थाका अनुसार कुल आम्दानी १२ लाख १ हजार ४४० रुपैयाँ र खर्च ९ लाख ६८ हजार ५५९ रुपैयाँ रहेको थियो। सो वर्ष संस्थाले २ लाख ३२ हजार ८८१ रुपैयाँ बचत गर्न सफल भएको थियो।
सम्बन्धित वडाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले प्रमाण पेस गरेपछि सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ। “यो प्रणाली तीन वर्षसम्म लागू हुनेछ,” वडाध्यक्ष भट्टराईले भने, “त्यसपछि वडाले आफ्नै टिम निर्माण गर्ने योजना लिएको छ।”
धरानमा पछिल्लो समय महिला खेलाडीको संख्या बढ्दै गएको छ। पुरुषसँगै महिलामा समेत दुव्र्यसनको समस्या देखिन थालेको अवस्थालाई मध्यनजर गर्दै, खेलकुदमार्फत महिलालाई सशक्त र सक्षम बनाउने उद्देश्यले यो प्रतियोगिताआयोजना गरिएको छ।
जनपथ जागरण समाजले नियमित रूपमा महिला फुटबल खेलाडी उत्पादनका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ। हाल धरान–१६ स्थित शारदा नमुना बालिका माध्यमिक विद्यालयको खेलमैदानमा प्रशिक्षण जारी छ।