धरान/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको फार्मेसीबाट ठूलो परिमाणमा औषधि हराएको प्रारम्भिक तथ्य सार्वजनिक भएपछि प्रतिष्ठानभित्र ठूलो हलचल मच्चिएको छ।
अस्पतालको प्रारम्भिक अनुसन्धान अनुसार, करिब ५ करोड ५० लाख रुपैयाँ बराबरको औषधिमध्ये ५० लाख रुपैयाँ बराबरको औषधि स्टकमा नदेखिएको, ३६ लाख रुपैयाँ नगद हिसाब नमिलेको, ४ लाख रुपैयाँ बराबरको बिक्री गडबडी र १४ लाख रुपैयाँभन्दा बढी मूल्यका म्याद गुज्रिएका औषधि फेला परेका छन्।
औषधि हराएको घटनामा अस्पतालका निर्देशक डा. जगतनारायण प्रसाद, तत्कालीन डेपुटी निर्देशक डा. लोकेश जैसवाल, फार्मेसी इन्चार्ज लक्ष्मण महर्जन, र कर्मचारी विवेक दाहालको संलग्नता देखिएको भन्दै उनीहरूलाई छानबिनको दायरामा ल्याइएको छ।
प्रतिष्ठानका रजिस्ट्रार सूर्यप्रसाद सङ्ग्रौलाका अनुसार फार्मेसीमा अनियमितता भेटिएपछि छानबिन प्रक्रिया तीव्र पारिएको छ।
उनका अनुसार, दोषी देखिएका कर्मचारीलाई निलम्बन गरी छानबिन समिति गठन गरिएको छ, जसको संयोजन डा. विष्णु पोखरेलले गरेका छन्। समितिलाई २५ दिनभित्र प्रतिवेदन बुझाउने म्याद दिइएको छ।
घोटालाको तथ्य बाहिरिएसँगै प्रतिष्ठानले फार्मेसी अस्थायी रूपमा बन्द गरेको छ। फार्मेसी बन्द हुँदा अस्पतालमा उपचारका लागि आएका बिरामीहरू औषधिविहीन हुने अवस्थामा पुगेका छन्।
साथै, स्वास्थ्य बीमा अन्तर्गतको निःशुल्क औषधि सेवा पनि ठप्प भएको छ, जसका कारण बिरामीहरू अब बाहिरी मेडिकलबाट महँगो दरमा औषधि खरिद गर्न बाध्य भएका छन्।
यसैबीच, प्रतिष्ठानले घटनाबारे स्पष्टीकरणसहित विज्ञप्ति जारी गरेको छ। अस्पतालकी प्रवक्ता डा. अञ्जु प्रधानले जारी गरेको विज्ञप्ति अनुसार, उक्त फार्मेसीको सञ्चालन केटीएम सेक्युरिटी सर्भिसेज प्रा. लि. नामक निजी कम्पनीलाई ठेक्कामा दिइएको थियो।
डा. प्रधानका भनाइअनुसार, “कम्पनीलाई बारम्बार पत्राचार गरे पनि फार्मेसीमा भौतिक परीक्षणका लागि प्रतिनिधि नपठाउँदा वास्तविक स्टक जाँच हुन नसकेको हो।”
उनले थपिन्, “यो घटना अहिलेको अवस्थामै घोटाला भनेर निष्कर्ष निकाल्ने स्थिति छैन। प्रारम्भिक तथ्यका आधारमा मात्र छानबिन भइरहेको हो। समितिको अन्तिम प्रतिवेदनपछि मात्र दोषी निर्धारण र कारबाही हुनेछ।”
डा. प्रधानले छानबिनपछि दोषीमाथि कडा कारबाही गरिने र फार्मेसी पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको बताएकी छन्। उनका अनुसार, बिरामी सेवामा पर्ने असर न्यून पार्न वैकल्पिक औषधि आपूर्ति व्यवस्था मिलाउने तयारी पनि भइरहेको छ।