सुनसरी/ नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा आफ्नो अपराजित यात्रा जारी राख्दै उपाधिको एक कदम नजिक पुगेको छ।
बुधबार सम्पन्न खेलमा नेपालले शक्तिशाली ओमानलाई ३८ रनले पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको हो।
१५२ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो। ओमानका विनायक शुम्लाले १९ बलमा ३२ रन र मोहम्मद नदीमले २५ रन जोडे पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन्।
नेपालका लागि गुलशन झाले ४ ओभरमा २४ रन खर्चिँदै ३ विकेट लिँदै उत्कृष्ट बलिङ गरे। नन्दन यादव र सोमपाल कामीले २–२ विकेट लिए भने सन्दीप लामिछानेले पनि एक विकेट आफ्नो नाममा थपे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको दमदार अर्धशतकको मद्दतमा २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रनको प्रतिस्पर्धात्मक योगफल बनाएको थियो। भुर्तेलले ५१ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ६९ रनको शानदार इनिङ खेले।
आसिफ शेखले २४, गुलशन झाले १८ र आदिल आलमले १६ रनको योगदान दिए।
ओमानका नदीम खानले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए भने शुफिया मेहमुद र जितेन रामानन्दीले २–२ विकेट हात पारे।
नेपाल र ओमान दुवै टिम विश्वकपमा छनोट भइसकेका छन्। यो जितसँगै नेपाल ४ खेलबाट ८ अंकसहित तालिकाको शीर्षस्थानमा उक्लिएको छ।
अब नेपालले आफ्नो अन्तिम समूह चरणको खेल शुक्रबार सामोआसँग खेल्नेछ, जहाँ जित हासिल गरेमा उपाधि पनि नेपालकै हुन सक्ने सम्भावना बलियो बनेको छ।