विराटनगर/ मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटल मा पछिल्ला केही दिनदेखि रगतको गम्भीर अभाव देखिएको छ। तत्काल रगत आवश्यक परेका बिरामीलाई समेत समयमै रगत उपलब्ध नहुँदा उपचारमा समस्या उत्पन्न भएको छ।
विराट ब्लड बैंकका इन्चार्ज प्रबिण दाहाल का अनुसार दशैंपछिदेखि सबै समूहका रगतको अभाव देखिएको हो। सामाजिक क्षेत्रबाट हुने रक्तदान कार्यक्रम ठप्प हुँदा न केवल विराट मेडिकल, तर विराटनगरका अन्य अस्पतालहरूमा पनि रगत आपूर्तिमा संकट आएको छ।
विराटनगरमा सुविधा सम्पन्न अस्पतालहरू भएकाले टाढा–टाढाबाट बिरामी आउने र माग उच्च हुने हुँदा ब्लड बैंकमा रगत सन्तुलन गर्न मुस्किल भएको नेपाल रेडक्रस सोसाइटी मोरङले जनाएको छ।
दाहालका अनुसार अस्पतालमा सामान्यतया दैनिक १०० देखि १२० पिन्ट रगत आवश्यक पर्छ, तर हाल दैनिक १५ देखि २० जनामात्र रक्तदान गर्दै आएका छन्। यसले गर्दा दुर्घटनाका घाइते, गर्भवती, सुत्केरी, शल्यक्रिया गर्नुपर्ने बिरामी, दीर्घ रोगी लगायत जीवनरक्षक उपचारमा गम्भीर असर परेको छ।
रगतको अभावका कारण बिरामीका आफन्तहरूले आफ्नो समूहको रगत खोज्दै अस्पताल र ब्लड बैंकबीच दौडधूप गर्नुपर्ने अवस्था आएको छ।
स्थिति नियन्त्रणमा ल्याउन अस्पतालले सार्वजनिक अपिल जारी गर्दै कर्मचारी, संघ–संस्था र इच्छुक नागरिकहरूलाई रक्तदान गर्न आग्रह गरेको छ।
रक्तदान गर्न इच्छुकले विराट ब्लड बैंक (९८०२७०९०८१) मा सम्पर्क गर्न सक्ने अस्पतालले जनाएको छ।
रगतको एक थोपा — जीवनको आशा। विराट मेडिकलले गरेको अपिल : आजै रक्तदान गरेर कसैको जीवन बचाऔँ।