धरान/ विशेष सूचनाका आधारमा प्रहरीले धरानमा ठूलो परिमाणको लागूऔषध बरामद गरेको छ।
साेमबार साँझ करिब ६ बजे धरान उपमहानगरपालिका–१७ पटनालीस्थित हरिण खोलामा लागूऔषध ओसारपसार भइरहेको भन्ने जानकारी पाएपछि अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको टोलीले धरानबाट चतरातर्फ जाँदै गरेको प्र.१–०५–००१ ह ०१४७ नम्बरको अटो रोकेर चेकजाँच गरेको थियो।
सो क्रममा अटोमा सवार उदयपुर त्रियुगा–७ का १९ वर्षीय दिपक मगरले कालो झोलामा लुकाइछिपाइ ल्याएको अवस्थामा ट्रामाडोल ३,९९० ट्याब्लेट र डिकोलिक ३,९९० ट्याब्लेट प्रहरीले बरामद गरेको हो।
प्रहरीले लागूऔषधसहित दिपक मगर र अटो चालक धरान–१० का ३३ वर्षीय फिरोज मोहम्मदलाई पक्राउ गरेको जनाएको छ। उनीहरूलाई अटो र बरामद सामानसहित इलाका प्रहरी कार्यालय धरानमा थप अनुसन्धानका लागि लगिएको प्रहरी स्रोतले जनाएको छ।