दलित बस्ती तोडफोड र लुटपाट प्रकरणमा वडाध्यक्षसहित १३ जनामाथि जाहेरी

  • असोज २२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सिरहा/दशैंको रमझमकै बीच सिरहाको कल्याणपुर नगरपालिका–८, अरङ्गाउँस्थित दलित बस्तीमा भएको तोडफोड र लुटपाट प्रकरणले स्थानीय स्तब्ध भएका छन्।

पीडितहरूले वडाध्यक्ष रामकिशोर यादवसहित १३ जनाविरुद्ध आपराधिक उपद्रवसम्बन्धी जाहेरी दिएका छन्।

गत शुक्रबार दिउँसो गुण्डागर्दी शैलीमा प्रहरीकै सामुन्ने बस्तीका घरहरू भत्काइएका र सामान लुटिएको पीडितहरूको आरोप छ। घटनामा स्थानीय प्रभास सिंह, कलास सिंह, रामनारायण सिंह, मुस्तफा राइन, गणेश कामतीलगायत संलग्न रहेको भन्दै पीडितहरूले इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका छन्।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी राजेशराज पुरीका अनुसार जाहेरीमा नाम उल्लेख भएका वडाध्यक् यादवसहित गणेश कामती र कलास सिंहलाई पक्राउ गरिएको छ भने अन्यको खोजतलास भइरहेको छ।

करिब ६ दशकदेखि सार्वजनिक पोखरीको डिलमा झुपडी बनाएर बस्दै आएका पासमान समुदायका दलितहरूलाई उठीबास गराउन वडाबाट सिफारिस गरिएको खुलासा भएपछि विवाद थप चर्किएको छ।

बस्तीका राजकुमार पासमानले भने, “दलितलाई जे गरे पनि हुन्छ भन्ने सामन्ती सोचकै कारण हाम्रो झुपडी तोडफोड र लुटपाट गरिएको हो।”

१ असोजमा आर्केष्ट्रा कार्यक्रमका क्रममा स्थानीयसँग विवाद भएपछि बस्ती उठाइदिन्छु भनेर धम्की आएको र त्यसको निरन्तरतामा घर तोडफोड र लुटपाट भएको पीडितहरूको दाबी छ।

पीडितहरूले आरोप लगाएअनुसार, करिब २०–२५ जनाको समूहले पाँच परिवारका घर भत्काउँदै सुनचाँदी, नगद, अन्नपात, फर्निचरलगायत लुटपाट गरेको मात्र होइन, बगैंचामा रहेका केरा, कागती, आँप, अम्बाका बोटसम्म भाँचिदिएको 

घटना सार्वजनिक भएपछि दलित अगुवाहरू, सञ्चारकर्मीहरू निरन्तर बस्ती पुगे पनि पालिकाका जनप्रतिनिधिहरू चार दिनपछि मात्रै पुगे।

सोमबार बिहान कार्यवाहक नगर प्रमुख रेखाकुमारी यादवले पीडितहरूसँग भेटघाट गर्दै बसोवासका लागि पालिकाले सहयोग गर्ने आश्वासन दिएकी छन्।

यसअघि शनिबार प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी र जिल्ला प्रहरी प्रमुख एसपी अनन्तराम शर्मासहितको टोलीले स्थलगत अनुगमन गर्दै पाँच परिवारलाई कम्बल, झुल र त्रिपाल वितरण गरेको थियो।

तर, घर भत्किएलगत्तै परेको लगातार वर्षाले बालबालिका र वृद्धवृद्धा खुलेआकाशमुनि त्रिपाल टाँगेर रात बिताउन बाध्य भएको पीडितहरूको गुनासो छ।

६५ वर्षीया दुखनीदेवी पासमान भन्छिन्, “घरमा भएको अन्नपात समेत लुटेर लगेकाले एक छाक राम्ररी खान पाएका छैनौं।”

 दलित बस्तीमाथिको यो तोडफोड र लुटपाट घटनाले सिरहामा सामन्ती सोच र सामाजिक विभेद अझै प्रस्ट देखाएको पीडितहरूको भनाइ छ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved