काठमाडौँ/ अविरल वर्षाबाट घरबारविहीन बनेका बाढी–पहिरो प्रभावित परिवारलाई सरकारले तत्काल राहतस्वरूप ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा मंगलबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टका अनुसार, घर भत्किएका प्रत्येक परिवारलाई अस्थायी आवास निर्माणका लागि तुरुन्तै ५० हजार रुपैयाँ उपलब्ध गराइनेछ। साथै, बाढी–पहिरोमा मृत्यु भएका, बेपत्ता तथा घाइते भएकालाई दिने क्षतिपूर्ति रकम पनि तत्काल निकासा गर्ने व्यवस्था मिलाइएको छ।
बैठकले प्रभावित क्षेत्रमा राहत वितरणलाई प्रभावकारी बनाउने, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, अस्थायी र स्थायी वासस्थानको व्यवस्था गर्ने लगायतका तत्काल कार्ययोजना तय गरेको छ।
त्यसैगरी, संघ, प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरेर सडक, खानेपानी, विद्युत्, सञ्चारजस्ता अत्यावश्यक सेवा सुचारु गर्ने निर्णय गरिएको छ। महामारी फैलिने जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयमार्फत रोकथाम तथा उपचारको पहल गर्ने व्यवस्था पनि गरिएको छ।
यस्तै, अन्तर्राष्ट्रिय खोज उद्धार मापदण्ड अनुरूप सुरक्षा निकायलाई आवश्यक तालिम तथा पूर्वाधार व्यवस्थापन गर्ने निर्णय पनि परिषद्ले गरेको छ।